इन्जिनमा पन्छी पसेपछि विमान मकैबारीमा अवतरण   



मस्को, (एजेन्सी)
आकाशमा अचानक पन्छीको एक झुण्डसँग ठक्कर खाएपछि एउटा रुसी यात्रुवाहक विमानलाई बिहबीार मकैबारीमा आपत्कालीन अवतरण गराइएको रुसी अधिकारीले बताएका छन्।

स्वास्थ्य अधिकारीहरूले विमानको इन्जिन नै उछिटिने र ल्यान्डिङ निस्कने गरी डरलाग्दो तरिकाले विमानलाई अवतरण गराइँदा २३ जना यात्रु घाइते भएको बताएका छन्। क्रिमियाको सिम्फेरोपोलतर्फ उडिरहेको युराल एयरलायन्सको एयरबस ३२१ उडेको केही छिनपछि नै पन्छीको समूहसँग ठोकिँदा यसको इन्जिनमा खराबी आएको थियो।

रसियाको सरकारी सञ्चारमाध्यमले यसलाई ‘रामेन्स्कको आकाशमा भएको चमत्कार’ को संज्ञा दिएको छ। एयरलाइन्स्ले पुनः उडाउनै नसकिने गरी विमानमा क्षति पुगेको बताएको छ। एक जना अधिकारीले यस सम्बन्धमा आवश्यक अनुसन्धान शुरू भइसकेको पनि जानकारी दिएका छन्।

ती उडिरहेका पन्छी इन्जिनभित्र तानिएपछि यात्रु र चालक दल गरी कुल २ सय ३३ जना सवार सो विमानलाई तत्कालै खतरा मोलेर भए पनि अवतरण गर्ने निर्णय चालक दलले गरेका थिए।
तर, एक जना नाम उल्लेख नगरिएका यात्रुले विमान उडेलगत्तै बेस्सरी हल्लिन थालेको सरकारी टेलिभिजनलाई बताएका छन्। उनले भनेका छन्– ‘त्यसको करिब पाँच सेकेन्डपछि नै विमानको दायाँतिरका बत्तीहरू बल्न थाले र केही जलेको गन्ध आउन थाल्यो।
विमान अवतरण हुनासाथ हामी सबै छिटो–छिटो आर्लेर भाग्न थाल्यौं।’ हवाई पारवाहन निकाय रोसाभियात्सियाले झुकोभ्स्की अन्तर्राष्ट्रिय विमानस्थलदेखि करिब एक किलोमिटर टाढाको मकैबारीमा अवतरण गरिएको पुष्टि गरेको छ।
स्वास्थ मन्त्रालयले घाइते हुनेमध्ये पाँच जना बालबालिका पनि रहेको बताएको छ। युराल एयरलायन्सका महानिर्देशक किरिल स्कुरातोभले यात्रा जारी राख्न चाहने यात्रुलाई स्वास्थ्य परीक्षणपछि अकै विमानको व्यवस्था गरिने तास समाचार निकायलाई बताएका छन्।
रुसी समारचार निकायले यस घटनालाई सन् २००९ मा धावनमार्गबाट उडेलगत्तै हडसन नदीमा आपत्कालीन अवतरण गरिएको यूएस एयरवेजको विमानसँग तुलना गरेको छ।

प्रतिक्रिया दिनुहोस्