पर्यटकीयस्थल ज्यामरुककोटमा पदमार्ग निर्माण 



 दुर्गाप्रसाद शर्मा, पर्वत ।
एतिहासिक तथा धार्मिक महत्व बोकेको बेनी नगरपालिका–२ ज्यामरुककोट सम्म पुग्नका लागि पदमार्ग निर्माण भएको छ। भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको सहयोगमा स्थानीयले जनश्रमदान गरेर पक्की पदमार्ग निर्माण गरेका हुन्।

भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५ सय ९९ रुपियाँ बराबरको श्रमदानबाट २ सय ५० मिटर  मिटर पदमार्ग निर्माण भएको उपभोक्ता समितिले जनाएको छ।

उपभोक्ता समितिले दिएको जानकारीअनुसार पदमार्गको एकसय ९० मिटरमा दुवै तर्फ रेलिङ राखेर व्यवस्थित गरिएको छ। २५ मिटर कठिन पहरालाई काटेर २ मिटर  फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताउनुभयो।

ढिलागरी बजेट प्राप्त भएपनि स्थानीयबासीको सक्रियताका कारण छोटो समयमा पदमार्ग बनाउन सफल भएको उहाँले बताउनुभयो।

पदमार्ग निर्माण भएपछि कोटमन्दिरमा पुग्न सहज भएको उहाँले बताउनुभयो। ऐतिहासिक ज्यामरुककोट मन्दिरमा पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय स्थलकारूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा जोड दिएको वडा अध्यक्ष हीराबहादुर थापाले बताउनुभयो।

चालू आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २ सय ५० मिटर, गतवर्ष पर्यटन बोर्डको २ लाख रुपियाँमा ५६ मिटर र बेनी नगरपालिकाको ४ लाखमा ७६ मिटर गरी हालसम्म सय ८२ मिटर पदमार्ग निर्माण भएको वडा अध्यक्ष थापाले बताउनुभयो।

उहाँका अनुसार गाउँदेखि कोटमन्दिरसम्म पुग्ने पदमार्ग सम्पन्न भएको छ। पदमार्गको केही भागमा रेलिङ राख्न बाँकी छ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको ७ लाख रुपियाँमा मन्दिर क्षेत्रमा घेराबार र पदमार्गको बाँकी स्थानमा रेलिङ बनाउने योजना रहेको उहाँले बताउनुभयो।

ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो। मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनलाई गलेश्वर हुँदै ज्यामरुककोट र यहाँदेखि बागलुङको पञ्चकोट पु¥याउन सकेमा पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

खड्ग भवानीकोट परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेनलगायतका १५ वटा भन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँहरू, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ।
चालू आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २ सय ५० मिटर, गतवर्ष पर्यटन बोर्डको २ लाख रुपियाँमा ५६ मिटर र बेनी नगरपालिकाको ४ लाखमा ७६ मिटर गरी हालसम्म सय ८२ मिटर पदमार्ग निर्माण भएको वडा अध्यक्ष थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्