दर्ता नभएका अनलाइनलाई  नियमन गर्न सुझाव 



नेपाल समाचारपत्र, काठमाडौं
डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरूमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल भएको छ।

प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरू सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरीत सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षका विषयमा गहन छलफल भएको हो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारका लागि अहिलेको आचारसंहिता सम्बन्धी कानुनले सबै विषय समेट्न नसकेकोे बताउनुभयो।

 उहाँले धेरै कारबाही भनेको नै प्रेस पास निलम्बन, लाइसेन्स खारेज भएको हुँदा जहाँ जसले जे बोले पनि हुने मानसिकता भएको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकीले केही अनलाइनले राख्नै नहुने कुरा राख्न थालेका तर त्यसलाई कसरी अनुगमन गर्ने भन्ने पाटो गम्भीर भएको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले दर्ता नभइकन चलेका अनलाइनलाई के गर्र्ने भन्ने विषय नै अहिलेको प्रमुख समस्या भएको बताउनुभयो।

सहन्यायधिवक्ता संजीवराज रेग्मीले अनलाइन निर्देशिकाको विषय जटिल भएको बताउनुभयो। कतिपय विषय हालको कानुनबाट समाधान गर्न सकिने, कतिपय विषय नयाँ कानुनमा समेटनु पर्ने र केही विषय दुईपक्षीय संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो।

प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले अनलाइन सञ्चार माध्यममा सम्प्रेषित गलत एवं भ्रामक समाचारले राष्ट्रिय सुरक्षा र ब्यक्तिको जीवनमा समेत असर पुग्ने बताउँदै त्यस्ता उजुरी प्रहरी कहाँ आउने गरेको बताउनुभयो।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले नेपालबाट सञ्चालन हुने र बाहिरबाट सञ्चालन हुने अनलाइनलाई एउटै कानुन लागु हुने बताउनुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिव राजन पौडेलले मन्त्रालयले कानुनको परिधिमा रहेर कारबाही गर्ने बताउनुभयो।
पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकार महासंघले गलत पत्रकारको पक्षपोषण नगरेको भन्दै सधै सत्यको पक्षमा रहने बताउनुभयो।

प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत दीपक खनालले केही अनलाइनमा समाचार नभएर गलत सामग्री मात्र आउने गरेकाले  त्यस्ताको पछि लाग्न नहुने धारणा राख्नुभयो। सह–प्रशासकीय अधिकृत खनालले दर्ता नभएको अनलाइनको हकमा स्वत नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्नुपर्ने बताउनुभयो।

प्रेस काउन्सिल नेपालकाउप–प्रशासकीय अधिकृत रामशरण बोहराले न्यूज पोर्टलका रूपमा सञ्चालन गरी नेपालको ऐन,नियम,निर्देशिका एवं विधि बमोजिम विधिवतरूपमा दर्ता ÷सूचीकरण नभएका अनलाइन पोर्टलबाट सम्प्रेषित अतिरञ्जित सामाग्री र कारबाहीको अवस्थाबारे प्रस्तुत गर्नुभयो।

बोहराले काउन्सिलमा हाल सम्म अनलाइन १ हजार ७ सय ४७, रेडियो तथा एफएम ८ सय ४० ,टेलिभिजन १ सय ५३ तथा नियमित पत्रिका ९ सय १२ प्रकाशित भइरहेको जानकारी दिँदै उहाँले जनगुनासो र अनुगमन, उजुरी र कारबाही,खन्डन र सचेत, जानकारी, अनुगमनमा प्रविधिको प्रयोग, आचारसंहिता उल्लंघनका प्रकृति, अनुगमनको तरीकाकाबारे उदाहरणसहित प्रष्ट पार्नुभएको थियो।

सूचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्यले १ महिनाको अवधिमा ८१ वटा अनलाइन विभागमा दर्ता भएको जानकारी दिनुभयो। उहाँले चाइनामा जम्मा ५ सयवटा मात्रै अनलाइन भएको सन्दर्भमा नेपालमा यतिधेरै अनलाइन हुनु अस्वभाविक भएको भन्दै नियमन गर्नुपर्ने बताउनुभयो।
प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा त्रास
फैलाउने, यौनजन्य अश्लील सामग्रीहरू सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरीत सामग्री
सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षका विषयमा गहन छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्