लोक नृत्यमा होली इन्टरनेसनल अब्बल



शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र इसानद्वारा राजधानीमा आयोजित अन्तरविद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता तथा एसईई सम्मान कार्यक्रम–२०७६ सम्पन्न भएको छ।

रुसी सांस्कृतिक केन्द्रमा सम्पन्न प्रतियोगितामा विभिन्न १७ विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा थकाली नृत्य, कौडा, सकेला, मारुनी, थारू नाच (कटघरिया), थाली नाच, मगेटा नाच, चण्डीमाईको नृत्य, छलियालगायतका लोकनृत्य देखाइएको थियो।

विभिन्न समूहमा गरी करिब ३ सय विद्यार्थीले प्रतिभा प्रदर्शन गरेको प्रतियोगितामा लोक नृत्य प्रतियोगितामा छलिया नाचका लागि होली इन्टरनेसनल स्कुल प्रथम भयो भने दोस्रो स्थान मगौटा नाचका लागि नेपालय स्कुलले प्राप्त गरेको थियो।

तेस्रो पुरस्कार थारू नाच प्रस्तुत गरेको ब्राइट जोन स्कुलले प्राप्त गर्यो। साकेला नाच प्रस्तुत गर्ने एम्बेसेडर स्कुल र कौरा नाच प्रस्तुत गर्ने ग्रिन तारा स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरे। त्यसै गरी गोल्डेन फ्युचर स्कुलले उत्कृष्ट भेषभूषाको पुरस्कार प्राप्त गर्यो भने प्राज्ञ सदन स्कुलका नृत्य निर्देशक उत्कृष्ट निर्देशकका रूपमा पुरस्कृत भए।

कार्यक्रममा यो वर्ष एसईईमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्