बहुमूल्य जडीबुटी शिलाजित खेर जाँदै

उत्खनन र प्रशोधन हुन नसक्दा समस्या



विनोदसिंह विष्ट, बैतडी

जडीबुटीहरूको राजा मानिने शिलाजित बैतडीमा भने खेर गइरहेको छ। बैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको हो।

शिलाजितको उत्खनन् र प्रशोधन हुन नसक्दा करोडौंको शिलाजित खेर गइरहेको हो। ठूल्ठूला भीरहरूमा गर्मीको महिना चुहिने शिलाजितको उचित संकलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन।

जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भए पनि यसको उत्खनन् र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताउनुभयो। गाउँघरमा परम्परागत रूपमा भीरहरूबाट स्थानीयहरूले निकालेर शिलाजित बनाउने गरेको तर यसलाई व्यावसायिक रुपमा शिलाजितको उत्खनन् र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको उहाँले बताउनुभयो। शिलाजित हरेक बिरामीहरूका लागि उपयोगी छ उहाँले भन्नुभयो– ‘शिलाजितलाई हरेक रोगमा टोनिकका रुपमा प्रयोग गर्न सकिने, यसलाई चोटपटक लागेमा, शरीर दुख्ने समस्या भएका बिरामीहरूका लागि बढी मात्रामा प्रयोग गर्ने गरिएको छ।’

बजारमा शिलाजित क्याप्सुलका रूपमा पाइने र त्यो निकै महंगो हुने बताइएको छ। जिल्लाका ठूल्ठूला भीरहरू चट्टान तथा ढुंगाहरू पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ।

बैतडीको दशरथचन्द नगरपालिका–१० झुलाघाटनजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सुर्नयाको रौलेश्वर भीरलगायत ठूलाठूला भीरहरूमा शिलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताउनुभयो। शिलाजित दुई किसिमको हुने कलौनीले बताउनुभयो। भीरबाट संकलन गरेर ल्याएका शिलाजितयुक्त ढुंगाहरूबाट दुई किसिमको शिलाजित निकाल्न सकिने उहाँको भनाइ छ।

शिलाजितलाई जडीबुटीहरूको राजा मानिन्छ। बलपुष्टिकारक, ओजवद्र्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ।
सूर्यको कीरणमा शिलाजितयुक्त ढुंगा राखेर त्यसबाट शिलाजित संकलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ। शिलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसंग पकाएर संकलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ। भीरबाटै संकलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ।

 

बैतडी जिल्लामा शिलाजितसँगै ६२ भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांक छ। शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताउनुभयो।

रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ। यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछन्।

विशेष गरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरिक दुर्बलतालगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ। आयुर्वेदका अनुसार शिलाजितको उत्पत्ति पत्थरबाट भएको हो। संस्कृतमा पत्थरलाई शिला भनिन्छ। गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजित हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चम्किलो हुन्छ।
उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजितको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन्।

प्रतिक्रिया दिनुहोस्