दोहाको मञ्चमा जम्यो नेपथ्य



दोहाको आकाशमा जसै बाह्रौं दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतीको संकेत शुरू भयो।

नेपालयका अर्पण शर्माका अनुसार गत आइतबार बेलुकी दोहाको एसियन टाउन एम्पी–थिएटरको मञ्चमा चढ्नेबित्तिकै हजारौं दर्शकको कोलाहलबीच नेपथ्यका मुख्य गायक अमृत गुरुङले शुरूमा एकछिनसम्मै चन्द्रमातर्फ हेरे। ‘बहुसांस्कृतिक विविधताले यो संसारलाई नै एउटा रमाइलो गाउँ बनाएको छ।’ –आकाशतिर सोझिएको नजर अगाडिको दर्शकदीर्घामा घुमाउँदै उनले भने। अमृतले गाउन शुरू गर्नुअघि सम्पूर्ण दर्शकलाई इद मुबारक भन्दै आफूले तमाम दर्शकहरूको निम्ति जनैपूर्णिमाको शुभकामना पनि बोकेर ल्याएको बताए। ‘जनैपूर्णिमाको बेला नेपालका धेरै मानिसहरु लाङटाङ क्षेत्रमा पर्ने गोसाइँकुण्डको तीर्थ गर्न जाने गरेका छन्’, उनले थपे– ‘आजको कन्सर्टको शुरुआत हामी त्यसै क्षेत्रबाट संकलन गरेर तयार पारिएको गीतबाट गर्दै छौं।’ शर्माका अनुसार त्यसपछि जसै दोहाको उखरमाउलो गर्मीमा अमृतले भेंडाको उनजस्तो गाउन शुरू गरे, गीतले हजारौं दर्शकमा उत्साहको सञ्चार गरायो।

त्यसपछि कन्सर्टमा लगातार नेपथ्यको सर्वकालिक हिट गीतहरू छेक्यो छेक्यो, शिरफूल शिरैमा, लामपाते सुरतीजस्ता गीत घन्किए। त्यसै क्रममा अमृतले कतारमा संघर्ष गरिरहेका तन्नेरीलाई उनीहरूका प्रियको सन्देशका रूपमा सुनाए ः
मै मरिजाउँला जीवन छोटो छ
लेखेको सम्झना चेत्तेर नफाल
सिरानमा फोटो छ

केही वर्षअघि तयार पारेको यो गीतलाई नेपथ्यले रोजगारीका निम्ति प्रवासिएका नेपाली कामदारहरूमै समर्पित गर्दै म्युजिक भिडियो तयार पारेको थियो। म्युजिक भिडियो कमिक एनिमेसनमा आधारित छ। युट्युबमा नेपथ्यका गीतमध्ये सर्वाधिक हेरिएको र सुनिएको यस गीतमा खाडीको दूरदेशमा बसेर श्रम गरिरहेका तन्नेरी र नेपालको कतै पहाडमा बसेर उनलाई याद गरिरहेकी प्रियसीका भावहरू झल्काउन खोजिएको छ।

कन्सर्ट चरी म¥यो, जोमसोमै बजारमा, जोगले हुन्छ भेट, हामी नेपाली, यो जिन्दगानी हुँदै अघि बढेको थियो। त्यसपछि पूर्वी नेपालको पदयात्राका क्रममा संकलन गरिएको हाक्पारेमा आधारित कोशीको पानी हुँदै रेशमसम्म पुगेपछि देशप्रेमका गीतहरूको क्रम शुरू भएको थियो। गाउँगाउँबाट उठ, हिमाल चुचुरे, मै नाचें छमछमी, तालको पानी हुँदै अन्तिममा रातो र चन्द्रसूर्यमा पुगेर कार्यक्रम टुंगिएको थियो। नेपथ्यले दोस्रोपटक आफूलाई दोहाको मञ्चमा प्रस्तुत गरेको थियो।

‘यसरी परदेशमा आएर श्रम गरिरहेका नेपाली दाजुभाइलाई देशको माया बोकेर आउन पाउँदा असाध्यै हर्ष लाग्छ’, गायक अमृतले भने– ‘सधैंजस्तै हामीले नेपाली माटोबाटै उब्जिएको लोकभाकामा आधारित सिर्जनाहरू दाजुभाइलाई बाँड्न पाएकोमा खुसी लागेको छ।’ सधैंजस्तै दोहामा पनि गायक अमृतलाई ब्यान्डका सदस्यहरू ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रतिक्रिया दिनुहोस्