सेती नदीको चट्टानमा फसेका गाईको उद्दार



विमल विष्ट, डोटी । डोटीको दिपायल पिपल्ला नजिकै सेती नदीको भिर चट्टानमा फसेका सात वटा गाईको उद्दार गरिएको छ । सेती नदीको चट्टानमा फसिरहेका सात वटा गाईलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयबासिन्दाको सहयोगमा बुधवार उद्दार गरी सुरक्षित ठाउँमा ल्याईएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ नदीको चट्टानमा फसेका गाईको उद्दार गरीएको छ, कसैले पाल्न नसकेर वा सडकमा छोडीएका गाईहरु जानी जानी उक्त भिरमा धकेलेको जस्तो छ । कस्ले गरेको हो खोजी गर्न प्रहरीलाई आदेश दिएको छु ।”

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, शसस्त्र प्रहरी ३६ नम्बर गणको टोली तथा स्थानियबासिन्दा सहितको टोलीले झण्डै चार घण्टाभन्दा बढी समय लगाएर गाईको सकुशल उद्दार गरेको थियो । त्यस्तै उद्दार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाईहरु व्याउने अवस्थाका रहेको गाई उद्दार कार्यमा संलग्न स्थानियवासी तेजबहादुर डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “केही गाई दुध दिने जस्ता छन् भने केही गाई व्याउने अवस्थाका छन्,कसले भिरमा फाल्यो अचम्म छ ।”

डोटी दिपायल पिपल्ला स्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु संकलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा गाईहरु भिरमा खसालेका छन्,कसले खसालेछ खोजी गर्दैछौँ ।”

प्रतिक्रिया दिनुहोस्