हजार जुनीसम्म मायाको खोजी



हिट फिल्म सिरिज नाइँ नभन्नु लका निर्देशक तथा लेखक विकासराज आचार्यले भोलि बिहीबारदेखि अल नेपाल रिलिज हुन लागेको आफ्नो फिल्म हजार जुनीसम्मलाई जुनी जुनीसम्म पनि रहिरहोस् भन्ने प्रयत्नस्वरूप बनाएको बताएका छन्।

‘यो सिनेमालाई मैले मेरा अघिल्ला प्रेमथाको फिल्मको निरन्तरताका रूपमा बनाएको छु। यो पारिवारिक सांगीगिक प्रेमकथा हो। तर, यसमा पहिलाको शैली निरन्तरता छैन, बेग्लै ढंगबाट कथा वाचन गरिएको छ।

मैले नाइँ नभन्नु ल सिरिजमा बालचरित्रलाई प्राथमिकता दिने गरेको थिएँ। त्योचाहिँ यसपालि छैन’, विकासले सञ्चारकर्मीसँग कुराकानी गर्दै खुलाए– ‘यसमा युवा पुस्ताको प्रेम देखाउने प्रयत्न गरेको छु। २ घन्टा १ मिनेटको यो फिल्मले पूर्णमनोरञ्जन दिन्छ भन्नेमा विश्वस्त छु।’ उनले थोरै कथा खुलाउँदै भने– ‘यो एउटा यात्राको कथा हो। दुई छोराले उसको बाउलाई उसको माया भेटाउन लैजाने कथा हो। सलोन र अखिलेश यसमा छोराको भूमिकामा छन्। मलाई बाल्यकालदेखि नै गीत मन पर्छ। त्यसैले फिल्ममा धेरै गीत राख्ने गरेकोे छु। यसमा पनि ६ वटा गीत राखेको छु।’

विकासका अनुसार हजार जुनीसम्म यसका कलाकारहरूको सल्लाहले बनेको फिल्म हो। ‘फिल्म तयार पार्ने क्रममा आर्यन र सलोनले निकै हेल्प गरे। लास्ट आवरसम्म पनि सल्लाह गरेर काम गर्यौं। यो हँसाउने र रुवाउने दुबै काम गर्ने फिल्म हो। सबै माझिएका कलाकार भएकाले काम गर्न सजिलो भयो’, उनले नाइँ नभन्नु ल सिरिजबाट बालबालिकालाई प्रेम गर्न सिकाएको आरोप स्वीकार गर्दै भने– ‘नाइँ नभन्नु ल सिरिजले बच्चालाई लभ गर्न सिकाउँथ्यो।

यसले बुबा उमेरकालाई लभ गर्न सिकाउँछ।’ उनले फिल्मका लागि सही कलाकार चयन गरिएको दाबी गरे। ‘यसमा आर्यन दुई एजको भूमिकामा छन्। मुख्य कलाकारका रूपमा दुबै एजमा प्रभावकारी देखिन आर्यनबाहेक अर्को विकल्प थिएन। उसले हामीलाई स्क्रिफ्टमा पनि धेरै हेल्प गर्यो। त्यति नै सहयोग सलोन र स्वस्तिमाले पनि गरे।’ –उनको भनाइ थियो।

फिल्मका आकर्षक पात्र भनिएका सलोन बस्नेतले यसमा आफूले हँसाउने काम गरेको बताए। ‘मेरो ≈युमर पार्ट छ। मुभी राम्रो भएको छ। सबै कलाकारको कम्बिनेसन राम्रो भएको छ। मैले गर्दै आएका मुभीमध्ये यो पनि बेटर मुभी बन्न पुगेको छ’, सलोनले सुनाए– ‘फिल्ममा म आर्यनको छोरा बनेको छु। नाम निशान्त छ, स्वभाव अशान्त छ।

यो क्यारेक्टर ड्याडसँग डराउँछ र पाएको ठाउँमा उडाइदिन्छ पनि। यो फिल्मको यात्रा भनेकै एक जनाको खोजी हो। हामीले बुबाको मायालाई खोजेका हुन्छौं।’

नायक आर्यन सिग्देलले भने फिल्ममा आफ्नो जवानीदेखि अधवैंशेसम्मको यात्रा रहेको बताए। ‘मेरो माया खोज्ने मेरो आफ्नै चाहना हुँदैन। दुई छोराको चाहना हुन्छ। कसैबाट १४ वर्षअगाडि नै टाढिएको हुन्छु। उसैको खोजी हुन्छ। पोखरा जस्तो पर्यटकीय ठाउँमा गितार पसल सम्हालेर बच्चा हुर्काएर बसेको हुन्छु।’ –आर्यनले भने। बुलबुल नायिका स्वस्तिमा खड्काले हजार जुनीसम्म आफ्नो लागि सफा प्रेमकथा भएको बताइन्। ‘मेरो लागि यो क्लिन लभस्टोरी मुभी हो।

हिजोआज लभस्टोरीको मुभी भन्नासाथ कि योसँग बसेर हेर्न नहुने कि त्योसँग बसेर हेर्न नहुने हुन्छ। योचाहिँ क्लिन छ’, स्वस्तिमाले सुनाइन्– ‘म मुभी चुज गर्दा पहिले टिम हेर्छु, त्यसपछि स्क्रिफ्ट। यो फिल्ममा टिमकै कारणले जोडिएको हुँ। फिल्म राम्रो बन्न टिमले म्याटर गर्छ। त्यसको भिजन कस्तो छ, पहिला काम गरेको छ कि छैन त्यो कुराले नै फिल्म कस्तो बन्छ भन्ने देखाउँछ। नयाँ टिमसँग काम नै नगर्ने भन्नेचाहिँ होइन। तर, भिजन के छ भन्ने कुराले म्याटर गर्छ। अस्ति एउटा टिमले भेट्न बोलायो।

नाम त भन्दिनँ, तर फिल्म रिलिज भइसक्यो। त्यो टिमले फिल्मको स्टोरीभन्दा पनि तिम्रो गीतचाहिँ यो छ भनेर मात्र सुनाए। जे कुरा गर्दा पनि गीतकै कुरा मात्र गरियो, स्टोरी नै भनिएन।

कुटुमा कुटु हिट भएर त्यसलाई क्यास गर्न खोज्नुभएको होला। त्यसबाटै थाहा हुन्छ टिमको भिजन के छ भनेर।’ उनको भनाइ थियो– ‘विकास दाइसँग काम गर्नचाहिँ सजिलो लाग्छ। फेरि मल्टी कास्ट मुभीमा सिक्न पाइन्छ। सलोन र आर्यनबाट कति धेरै कुरा सिक्न पाइयो। अनि यो मुभीमा सिक्किमको केटी बनेर गरिरहेको भन्दा अलि फरक काम गर्न पाएँ।

फिल्मको जर्नीमा मैले पनि सहयोग गरेकी हुन्छु, आफ्नै लभस्टोरी पनि छ। दुई जना छोराले मात्र खोज्न नसकेर मैले पनि लेडी पावर देखाउनुपर्ने हुन्छ। त्यो गरेर देखाएकी छु।’

विकासका अनुसार नयाँ फिल्म शुक्रबार मात्र रिलिज गर्ने नियम भए पनि बिहीबार नै हिन्दी फिल्म रिलिजमा ल्याउन लागिएकाले हजार जुनीसम्म पनि भोलिबाटै रिलिजमा ल्याउन लागिएको हो। फिल्ममा आर्यन, स्वस्तिमा र सलोनसँगै सञ्चिता लुइँटेल, अनुभव रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्