अब भूकम्प आउनुअघि नै ‘साइरन’



नेपाल समाचारपत्र, बाँके ।
बाँकेको कोहलपुर र बैजनाथ गाउँपालिकामा भूकम्पको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।

नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर), ताइवानको सहयोगमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा ६÷६ वटा सेन्सर जडान गरिएको छ । बाँकेमा जडान गरिएको भूकम्पको पूर्वसूचना दिने सेन्सर नेपालमै पहिलो हो ।

एनसीडीआर, ताइवानका निर्देशक डा. होङ चेङले सेन्सरले भूकम्प जानु भन्दा ५० सेकेन्ड अघि नै सूचना दिने बताउनुभयो । ‘भूकम्पको मामलामा ताइवान र नेपाल उस्तै छन् । भूकम्प आइरहन्छ । हाम्रोमा सेन्सरले साह्रै फाइदा पु¥याएको छ । यहाँ पनि फाइदा नै पु¥याउने विश्वास गरेको छु, सीमित सञ्चारकर्मीमाझ एनसीडीआरका निर्देशक चेङले भन्नुभयो, अमेरिका, जापान र कोरियासमेत हामीले जडान गरेको सेन्सरबाट प्रभावित भएका छन् ।’

तीन महिना लगाएर सेन्सर जडान गरिसकिएको छ । कोहलपुर नगरपालिका कार्यालयमा सेन्सरको रिमोट कन्ट्रोल राखिएको छ । जसको मंगलबार एनसीडीआरका निर्देशक चेङ, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले उद्घाटन गरेका छन् ।

सेन्सरले भूकम्प जानु पूर्व नै सूचना दिने भएकाले त्यसबारेमा मोबाइल एप्सबाट सर्वसाधारणलाई जानकारी गराइन्छ । घनाबस्तीमा साइरन बजाउने तयारी भएको छ । सेन्सर जडानमा सहकार्य गरेको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायका अनुसार, भूकम्पको इपिसेन्टर हेरेर २० देखि ५० सेकेन्डमा पूर्व सूचना दिन्छ । हामीले घनाबस्तीमा साइरन जडान गर्ने र मोबाइल एप्सबाट सूचना दिने तयारी गरेका छौ ।

बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चुरेको तल्लो भागमा पर्दछ । यी स्थानीय तह प्राकृतिक हिसावले चुरेसँग जोडिएको र घनाबस्ती भएकाले भविष्यमा आउन सक्ने ठूलो विपदको जोखिममा रहेको मानिन्छ । कोहलपुर नगरपालिका क्षेत्रको पूर्वपश्चिम राजमार्गको करिव १० किलोमिटर क्षेत्र आसपासलाई भूकम्पीय क्षेत्रका रुपमा हेरिएको छ । नेपाल त्यसैपनि विपद्को उच्च जोखिममा रहेको छ । वि.सं. १९९० र २०७२ मा ठूलो भूकम्प गइसकेको छ । बाढी, पहिरो, हावाहुरी, आगजनीले वर्षेनी धेरैले ज्यान गुमाउने गर्दछन् ।

सेन्सर जडानले भूकम्प, बाढी र हुरीबतास आउनु अघि नै जानकारी दिने एनसीडीआरका अधिकारीहरुले बताएका छन् । केही महिनाअघि बारा र पर्सामा आएकाजस्तो टोर्नाडो सेन्सरले अगाडि नै थाहा पाउने बताइएको छ । नेपालमा अहिलेसम्म बाढी आउनु पूर्व नै साइरन बजाउने गरिएको छ । अब बाँकेका दुई स्थानीय तहमा भूकम्प आउनु पूर्व पनि साइरन बज्ने भएका छन् ।

एनसीडीआरका प्रतिनिधिले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत दिइसकेको छ । ताइवान सरकारले कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकामा चार वटा डुंगा, दमकल, तीन वटा हेल्मेट, तीन वटा पञ्जा तथा एक सय वटा लाइफ ज्याकेट सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्