कर तिरौं सुविधा लिऊँ



सरकारले यसै आर्थिक वर्षदेखि सबै नागरिकलाई अनिवार्यरुपमा करको दायरामा ल्याउँदै छ । नेपाली जनताले कुनै न कुनै रुपमा सकेर वा नसकेर कर तिरिरहेका छन् । आर्थिक वर्ष ०७६÷७७ देखि सरकारले कुनै पनि व्यावसायिक फर्म, कम्पनी, संस्था वा निकायले स्थायी लेखा नम्बर (प्यान) विना कुनै पनि कर्मचारीलाई तलब दिन नपाउने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाबमोजिम निजी कम्पनी वा फर्मले कुनै पनि कर्मचारीलाई तलब दिँदा अनिवार्य बैंकमा जम्मा गर्नुपर्ने र तलब खाने जोसुकैले आन्तरिक राजस्व कार्यालयमा अनिवार्य प्यान कार्ड लिई कर तिर्नुपर्ने भएको छ ।

कर तिर्नु हरेक नागरिकको कर्तव्य हो । र, राज्यले पनि आफ्ना नागरिकलाई कर तिरेबमोजिमको सेवा–सुविधा प्रदान गर्नुपर्छ । सरकारले सबैलाई करको दायरामा ल्याउने अभियान सञ्चालन गर्दै गर्दा र नागरिकले आफ्नो पसिना बगाएर राज्यलाई कर तिर्दै गर्दा करको सदुपयोग भने भइरहेको छैन । यो सबै जनताका लागि दुःखको कुरा हो । राज्यकोषको दुरुपयोग भइरहेका अनेक दृष्टान्त छन् । विशिष्टका नाममा विदेशमा उपचार गर्ने, विशिष्टका हकमा मरणोपरान्त राज्यको सेवा–सुविधा लिने, विदेश सयर गर्ने, विलासी गाडी चढ्ने, राज्यकोषको दोहन गरी आफन्त र कार्यकर्तालाई रकम बाँड्नेलगायतका बेतिथिका वृत्तान्तहरु धेरै छन् ।

एउटा गरिबले खुरुखुरु कर तिर्दै गर्दा ठूला करदाताहरुले भने राज्यलाई तिर्नुपर्ने अर्बौं कर तिर्न आनाकानी गर्ने गरेका छन् । अर्बौं कर तिर्न अटेरी गर्दै आएका एनसेललगायतका कम्पनीका मनोमानी समाचारमा छाइरहँदा बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले राजस्व कार्यालयले पटक–पटक ताकेता र समयसीमा दिँदा पनि पाँच वर्षदेखि कर तिर्न अटेरी गरेको खबर सार्वजनिक भएको छ । सो कम्पनीले हालसम्म तिर्नुपर्ने रकम पाँच आर्थिक वर्षको १ अर्ब ४० करोड रुपियाँ पुगेको राजस्व कार्यालयले जनाएको छ । तर, गोर्खा ब्रुअरीले पाँच वर्षअघिदेखि मुद्दा प्रक्रियामा गई कर तिरेको छैन ।

यो कम्पनी एक दृष्टान्त मात्रै हो । नेपालमा विभिन्न बहानामा कर तिर्न आनाकानी गर्ने थुप्रै कम्पनी तथा प्रतिष्ठान छन्, जसले विभिन्न शक्ति र प्रभावको आडमा राज्यलाई कर तिरिरहेका छैनन् । सरकार एक हजारमाथिको कारोबार गर्दा अनिवार्य बैंकमार्फत गर्नुपर्ने व्यवस्था लागू गर्छ । तर वर्षौंदेखि कर नतिर्ने, राजस्व छल्ने, अवैध सम्पत्ति थुपार्ने, विदेशबाट स्रोत नखुलेको रकम भित्र्याउने, भ्रष्टाचार गर्ने र पदको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गर्नेहरुका हकमा कारबाही गर्न सक्दैन । सम्पत्ति विवरण सार्वजनिक नगर्ने जनप्रतिनिधि होऊन् वा सरकारी सेवामा रही अकुत आर्जन गरिरहेका बहालवाला वा सेवानिवृत्तहरुको सम्पत्ति छानबिन गर्ने फुर्सद पनि सरकारलाई छैन ।
जनतालाई अस्वाभाविक र अनावश्यक कर थोपरेर आलोचित बनिरहँदा वर्षौंदेखि बहानाबाजी खोजेर कर नतिर्नेहरुलाई सरकारले किन उन्मुक्ति दिइरहेको छ ? अहिले जनताले खोजेको सवाल हो यो ।

नेपालमा कर चुहावट, राजस्व छलीबाट मात्रै २ खर्बभन्दा बढी राजस्व छली भएको अनुमान छ । कर तिर्नु आफ्नो आम्दानीको वैधता सुनिश्चित गर्नु पनि हो । कर छलेर जम्मा भएको सम्पत्ति स्वतः अवैध हुन्छ । त्यसैले, भविष्यमा सम्पत्तिको स्रोत खोल्न नसकेर कानुनी कारबाहीबाट बच्न कर दायित्व हुने नागरिकले नियमित कर दाखिला गर्नु श्रेयष्कर हुन्छ । जनताले कर तिर्नुलाई आफ्नो कर्तव्य र गौरव मान्दै गर्दा राज्यले त्यसको सही सदुपयोगमा ध्यान दिनु अति जरुरी देखिन्छ ।
– नारायण डाँगी, भक्तपुर ।

बाघ नजोगाए भावी पुस्ता संकटमा
मान्छे आदिमकालदेखि नै बाघप्रति आकर्षित थियो । बाघ बूढो र स्याल तन्नेरी हुँदैन, मरेको बाघको जुँगा उखेलेर बहादुर भइन्न भन्ने उखान हुन् वा बाघचालजस्ता चालहरु नै किन नहुन् ? बाघको आनिबानीको मान्छेले लुकेरै भए पनि अवलोकन गथ्र्यो । बाघसँगको भय त छँदै थियो तर बाघ वास्तवमै साहसको प्रतिक थियो ।

बाघ कालान्तरदेखि नै मांसाहारी हो । बूढो हुँदा पनि उसले घाँस खाँदैन । विचित्र बानीका कारण बाघ सौन्दर्य, साहस र निडरताको प्रतिक बन्यो र बनिरहेको छ । तर, दुर्भाग्य ! यो सुन्दर जनावरको अस्तित्व संकटमा छ । बाघको संख्या दिनानुदिन घटिरहेको छ । मान्छेको आफूप्रतिको आकर्षण नै यसको लागि दुर्भाग्य बन्यो । मान्छेले लुकिछिपी बाघको सिकार गर्न थाल्यो । उसका सुन्दर अंगहरु बहुमूल्य बन्न पुगे । बाघ बस्ने जंगल मासियो । आहाराको कमी हुन थाल्यो । अनि बलशाली जनावर आत्मरक्षा गर्न बाध्य बन्यो ।

सन् १९९५ मा नेपालमा नै बाघको संख्या जम्मा ९५ वटामा सीमित हुन पुग्यो । संसारभर नै यस्तो अवस्था रह्यो । सुन्दर जनावरको अस्तित्व लोप हुन थालेपछि केही संरक्षणविद्हरु चिन्तित बने । उनीहरुले बाघको आवश्यकता महसुस गरे अनि संरक्षणको अभियान थाले । नेपाल पनि यो अभियानमा सामेल बन्यो । अहिले नेपालमा २ सय ३५ वटा बाघ रहेको विश्वास गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वनक्षेत्रमा १६ बाघ भेटिएका छन् । संसारका १३ वटा देशमा मात्रै बाघ पाइन्छ । अहिले लाओसमा जम्मा २ वटा बाघ छन् भने भारतमा सबैभन्दा बढी बाघ बस्दै आएका छन् ।

बूढापाकाहरु भन्थे, ‘ढुंगाको भर माटो र माटोको भर ढुंगा ।’ हो, प्रकृतिले हरेक जीवलाई एक–अर्काको सहायकको रुपमा उभ्याएको छ । यहाँ एउटाको अस्तित्व मेटिँदा अर्को बच्छु भन्नु मूर्खता नै हुन्छ । वनको बाघले मान्छेलाई प्रत्यक्ष केही नगर्ला तर वन संरक्षणमा उसले दिएको योगदान चानचुने छैन र होइन । बन नै नरहे बाघ मात्र होइन, मान्छे पनि नरहने र पृथ्वीको अस्तित्व नै संकटमा पर्ने प्रमाणित विषय हो । यसैले बाघ संरक्षण गर्नु भनेको एउटा हिंश्रक जनावर जोगाउनु मात्रै होइन, पर्यावरण र मानव सभ्यता जोगाउनु हो ।

मानव सभ्यता जोगाउन बाघको संरक्षण हुनै पर्छ । अर्कोतर्फ यो सुन्दर जनावर भोलिका हाम्रा सन्ततिले पनि हेर्न पाउनुपर्छ । यसको लागि हुँदै गरेका संरक्षणका अभियानलाई निरन्तरता दिँदै चोरी सिकार नियन्त्रण, पर्यावरण अनि वन संरक्षणमा अझ द्रुतगतिले काम गर्नुपर्छ । अहिले नेपालले बाघ संरक्षणमा देखाएको सक्रियताले आशा जगाएको छ । विश्व बाघ दिवस मनाउँदै गर्दा बाघ संरक्षणको लागि दीर्घकालीन योजना पनि तयार पारिनुपर्छ । नत्र बाघ त रहनेछैन नै, बाघ कस्तो हुन्छ भन्ने हाम्रो भावी पुस्ता पनि संकटमै पर्ने निश्चित छ ।
– लक्ष्मण मगर, कास्की ।

प्रतिक्रिया दिनुहोस्