अवैध औषधी बिक्री गर्ने फार्मेसीका सञ्चालक कारवाहीमा



विराटनगर । मानव स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने नक्कली औषधि बिक्री गर्ने गिरोह पूर्वमा सक्रिय रहेको पाइएको छ । विराटनगर र झापामा नक्कली औषधिको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । गएको आर्थिक वर्षमा मात्रै १५ जनालाई नेपालमा दर्ता नभएको औषधि पैठारी गरेको र नक्कली औषधिको बिक्री वितरण गरेको आरोपमा मुद्दा दायर गरिएको औषधि व्यवस्था विभागले जनाएको छ । विभागले विराटनगरले उनीहरूलाई औषीध ऐन २०३५ अनुसार कारवाही गर्न जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

सुनसरी धरान ४ का जीवन अग्रवाल, विराटनगर महानगरपालिका–१ स्थित म्याक्स फार्मेसीका संचालक दिपककुमार राय र सप्तरी घर भई विराटनगरमा महुली फार्मेसी सञ्चालन गर्ने प्रशान्तकुमार चौधरी, दादरबैरियाका पाण्डव राजवंशी, जिगारी फार्मेसीका नौसाद आलम नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । गत वर्षको साउन १३ गते मध्यरातमा विराटनगरका चर्चित अस्पतालहरूको परिसरमा सञ्चालन गरेको फार्मेसीमा प्रहरीले छापा मारेर नक्कली औषधि बिक्री वितरण गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । मानव स्वास्थ्यमा गम्भीर प्रभाव पर्नेगरी नक्कली औषधि विक्री गर्ने गरेको सूचनाको आधारमा विराटनगरका न्यूरो, म्याक्स, विराट नर्सिङहोम र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन रक्षाका लागि प्रयोग गरिने महंगा औषधिको नक्कली लेबल र स्टीकर प्रयोग गरी विक्री गरेको फेला परेको थियो ।

त्यसपछि औषधि व्यवस्था विभागले थप अनुसन्धान गरी जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । झापाको बाह्रदशी गाउँपालिका–४ का इतियाज आलम, सोही स्थानका सम्दान हुसेन, ताहिर आलम र काठमाडौं बौद्धका फुन्चोशक शेर्पालाई बिना दर्ता औषधि ओसारपसार, निकासी पैठारी र संचय गरेको अभियोगमा मुद्दा चलाएको छ । त्यसैगरी झपा विर्तामोड नगरपालिकाका राजेन्द्र पन्धाक र हल्दिबारी गाउँपालिका–४ का वितबहादुर रायमाथि जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

बिना दर्ता युनानी औषधि ओसारपसार र बिक्री वितरण गरेको अभियोगमा सुनसरीको कोशी गाउँपालिका–४ का मो जालिम मियाँ, कोशी गाउँपालिका–३ का मो हुसेन मन्सुरी माथि पनि जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको छ । मोरङको सुन्दरहरैंचा–४ का मो मुस्तफा र मो अकबर विरूद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्गाले जानकारी दिनुभयो । विभागले गहन अनुसन्धान गरेर औषधि ऐन २०३५ अनुसार थप कारवाहीका लागि अदालतमा मुद्दा दायर गरिएको उनले बताए । सो क्रममा प्रहरीले नक्कली लेबल र स्टीकरसहित ३ हजार ४४ पिस औषधि नियन्त्रणमा लिएको थियो ।

पूर्वका अधिकांश औषधि पसल अनाधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ । औषधि विभागले निर्धारण गरेको मापदण्ड विपरीत सप्तरी, मोरङ, सुनसरी, झापा, भोजपुर, इलाम, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लामा औषधि पसलहरू सञ्चालनमा रहेको पाइएको छ ।औषधि व्यवस्था विभाग विराटनगरले विशेष टोली परिचालन गरेर अनुगमन गर्न थालेपछि औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो ।

औषधि विभागले गरेको अनुगमनको क्रममा दर्ता नभएको प्रतिबन्धित औषधि बिक्री वितरण हुने गरेको, अनुमति पत्र (लाइन्सेस) नलिई व्यवसाय गरिरहेको, एलोप्याथिक पसलमा आयुर्वे्दिक औषधि बिक्री वितरण हुने गरेको र नविकरण नभएको लगायतका अवस्थामा औषधि पसलहरू सञ्चालनमा रहेको फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्