निर्मला पन्तले न्याय नपाउने नै हो ?



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते एक वर्ष पुगेको छ । विगत एक वर्षमा निर्मला पन्तको हत्या प्रकरणबारे सडकदेखि सदनसम्म चर्को आवाज उठिसकेको छ । सडक आन्दोलनदेखि चरणबद्ध संघर्षका कार्यक्रम गरिए, रिले अनसनदेखि हरेक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइसकिएको छ । तर न निर्मलाका हत्यारा पत्ता लागे, न त निर्मलाले न्याय पाइन् ।

निर्मला प्रकरण एउटा प्रतिनिधि घटना हो । निर्मलाजस्ता सयौँ चेली अपराधीको सिकार भइरहेका छन् । हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता दर्जनौँ आपराधिक घटना बढोत्तरी हुँदै छन् । दण्डहीनता मौलाइरहेको छ ।

कतिपय बलात्कारका घटना प्रहरीसम्म आइपुग्दैनन् । सामाजिक लाञ्छना, डरत्रास र भावी जीवनमा पर्न सक्ने असरका कारण नेपाली समाजमा घटना सकभर लुकाउने, दबाउने, मिलापत्र गर्ने, आर्थिक प्रलोभन देखाएर अपराधी जोगाउनेजस्ता प्रवृत्ति विद्यमान छ । समाजका भद्रभलाद्मी, सामाजिक अगुवा र राजनीतिक दबाबमा पनि दण्डहीनता बढिरहेको छ ।

विडम्बना ! निर्मला पन्तको बलात्कारपश्चात् हत्या भएको विषयलाई गृहमन्त्री रामबहादुर थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत राजनीतिकरण गरिएको आरोप लगाए । उनले ‘निर्मला घटनाका प्रकरणहरू यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ, हामी जुन ढंगको अवस्थामा छौँ, त्यस किसिमको अपराधलाई पूर्णरुपमा निषेध गर्न सक्दैनौँ’ भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए ।

निर्मला पन्तको हत्यारा पत्ता नलागेको घटनालाई लिएर अझै पनि प्रहरी प्रशासनको आलोचना हुँदै आएको छ । तर, गृहमन्त्रीले आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पीडितको पीडा कसरी कम गर्ने र अपराधीलाई पक्राउ गर्नेभन्दा हल्काफुल्का टिप्पणी गर्दै निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको बचाउ गरे । गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर न्यायप्रेमी जनता, महिला अधिकारकर्मी, नागरिक समाजलगायत चौतर्फीरुपमा आलोचना बढेको छ ।

निर्मला प्रकरणमा प्रहरी र उसको अनुसन्धान चुक्दै जानु, नक्कली पीडक खडा गरेर नेपाली समाजलाई भ्रमित बनाउनु, न्यायका लागि अभियन्ताहरुले पोस्टर सार्वजनिक गर्दा शासकहरु चिढिनु न्यायसंगत थिएन । सरकारले गरेका ससाना कामको प्रचार ‘होर्डिङ बोर्ड’मार्फत भइरहँदा एउटी चेलीको न्यायका लागि पोस्टर टाँस्दा राजनीतीकरण भएको देख्नु सरकारको दृष्टिदोष हो ।

गृहमन्त्रीलाई थाहा छ– गृहकार्य गर्न साथीको घर गएकी छोरी नफर्किएपछि प्रहरीकोमा पुगेकी निर्मलाकी आमाले त्यसयता छोरीलाई न्यायका लागि निकै संघर्ष गरिन् । यसै क्रममा निर्मलाका बुबा विक्षिप्त मात्रै भएनन्, उनको मानसिक उपचारसमेत गर्नुपरेको थियो । यस्तो बेलामा आडभरोसा र पीडामा मलहमपट्टी लगाउने जिम्मेवारी राज्यको हो । दोषी पत्ता लगाउने निकाय गृह प्रशासनबाटै गैरजिम्मेवार अभिव्यक्ति आउँदा पीडित परिवार झन् आहात बन्न पुगेका छन् ।

प्रतिपक्षले शान्तिसुरक्षाका विषयमा सवाल उठाउनु अन्यथा होइन । तर, गृहमन्त्रीले दिने जवाफ निराशाजनक हुनुहुँदैन । न्यायका लागि आवाज उठाउनेहरु सबै प्रतिपक्ष दलका मात्रै हुँदैनन् । मन्त्रीको पदीय मर्यादा विपरीतका यस्ता अभिव्यक्तिले मुलुकमा नैतिकता र जिम्मेवारीको खडेरी परेको अनुभूति गरिएको छ ।
– मन्दिरा बस्नेत, बर्दिया ।

पुष्पलालको सम्मान नै कम्युनिस्टको बाटो
नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी एवम् आदर्श नेता पुष्पलाल श्रेष्ठको साउन ७ गते स्मृति दिवस । विविध कार्यक्रम गरी स्मरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारसमेत मानिन्छन् । वि.सं. १९८१ असार १५ गते रामेछापकोे भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा निधन भएको थियो । उनी राणाविरोधी आन्दोलनको विगुल फुक्ने महान् शहीद गंगालालका भाइसमेत हुन् ।

प्रवासी जीवनकालमा तत्कालीन राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा शुरू गरेका उनले करिब दुई वर्ष कांग्रेसको कार्यालय सचिवसमेत रहेर काम गरेका थिए । राष्ट्रिय कांग्रेसमा आएको फुटसँगै भारतीय कम्युनिस्ट पार्टीका नेताहरुको संगतले उनले कम्युनिस्ट राजनीति शुरू गरेका हुन् । उनी नेपालका प्रथम गणतन्त्रवादी नेता हुन् । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका पुष्पलाल कम्युनिस्ट आन्दोलनका साझा सम्पत्ति र एउटा लोकप्रिय सर्वोच्च व्यक्तित्व हुन् । नेपाली समाजको पहिलो माक्र्सवादी विश्लेषक पुष्पलालका विचार र आदर्श व्यक्तित्व नेपाली कम्युनिस्ट इतिहासले कहिल्यै पनि बिर्सन सक्दैन ।

वि.सं. २००६ मा राणातन्त्रविरोधी आन्दोलनलाई राजावाद र बुर्जुवा सुधारवादकोे भ्रमबाट मुक्त गर्दै सामन्तवाद–साम्राज्यवादविरोधी आमूल परिवर्तनको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । त्यस बेला राणातन्त्रको समाप्तिका लागि पुष्पलालले ठूलो लडाइँ लडेका थिए ।

कम्युनिस्ट आन्दोलन फुट र गुटको रोगबाट अलग रहन सकेको पाइँदैन । वि.सं. २०२२ मा नेपाली कम्युनिस्ट आन्दोलन साना–साना टुक्रामा विभाजित भएको थियो । कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकरण गर्ने क्रममा पुष्पलालले वि.सं. २०३५ पुस ११ गते नेकपा (माले) को गठन गरेका थिए । कम्युनिस्ट आन्दोलन पुनगर्ठनको प्रक्रियामा लैजाने पुष्पलालको योगदान अतुलनीय मानिन्छ । अहिलेको अवस्थामा आइपुग्दा भने नेपाली कम्युनिस्ट आन्दोलन एकताको सूत्रमा बाँधिन पुगेको छ । खासगरी गन्तव्य उही भए पनि विपरीत ध्रुवमा फर्किएका माओवादी केन्द्र र एमालले चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण गरेर कम्युनिस्टहरु फुट्न मात्र जान्दैनन् भन्ने प्रमाणित गरेका छन् । दुई पार्टी मिलेर बनेको नेकपाले देशभर एकताको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ ।

नेपालमा निरंकुशता अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता पनि पुष्पलाल नै मानिन्छन् । उनले वि.सं. २०२५ मा अगाडि सारेको संयुक्त जनआन्दोलनको अवधारणा २०४६ मा आएर कार्यान्वयन भएको थियो । यसैको जगमा टेकेर ०६२÷०६३ को जनआन्दोलनमार्फत नेपालमा राजतन्त्र उन्मूलन र गणतन्त्र स्थापना भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीलाई ‘त्रिनेत्र’का नामले चिनिने गरिन्छ । वर्तमान परिप्रेक्ष्यमा ‘त्रिनेत्र’को सैद्धान्तिक दृष्टि, सिर्जनशीलता, दूरदर्शिता र क्रान्तिकारितालाई कायम राख्न सके नेपाली कम्युनिस्ट आन्दोलन अझै उचाइमा पुग्न सक्ने देखिन्छ ।

पुष्पलालले ‘माक्र्सवाद भक्तिवाद होइन, यो त व्यवहारका निम्ति बाटो देखाउने सिद्धान्त हो’ भनेका छन् । वर्तमान सन्दर्भमा कम्युनिस्ट पार्टीभित्र पुष्पलालद्वारा प्रतिपादित तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षलाई आत्मसात् गर्न सके स्मृति दिवस मनाउनुको सार्थकता रहनेछ । कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकरण गर्ने आदर्श नेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन !
– समर नेपाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्