पर्यटन वर्ष सकौं, पोखरी खनौं !



पर्यटकहरुको प्रिय सांस्कृतिक नगर पाटनमा पार्किङ विवाद चर्किको छ । विवादले २०२० को पर्यटन वर्ष प्रभावित हुनेभएको छ । पाँच महिनापछि मनाउन लागिएको भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत गर्नु हाम्रो कर्तव्य हो । आर्थिक समृद्धिको लागि सरकारले घोषणा गरेको भ्रमण वर्षमा सरकारले २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य छ ।

सरकारले ३२ देशमा रहेका दूतावास वा नियोगलाई परिचालन गरेर पर्यटकलाई नेपाल भित्र्याउन कूटनीतिक अभियान थालेको छ । तर भ्रमण वर्षको पूर्वसन्ध्यामा ललितपुरमा आउने पर्यटकलाई स्वागत गर्न आातुर रहेका ललितपुरवासी करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको नःटोलस्थित पलेस्वाः पुखु (पोखरी) रहेको जग्गामा पार्किङ रोकिएपछि दिकदार बनेका छन् ।

करिब पाँच वर्र्षदेखि एकपक्षीय रुपमा पार्किङ गर्दै आएको एक समूहले पार्किङको रुपमा प्रयोग भएको सो जग्गामा तत्कालै पोखरी खन्नुपर्छ भनेर माग गरिरहेको छ । तर ललितपुर महानगरपालिकाले टेण्डरमार्फत बढी रकम आएपछि नयाँ ठेकेदारलाई सो जग्गा ठेक्कामा दिएपछि पोखरी खन्ने मागलाई अभियान बनायो । स्थानीय ४० टोलका ज्यापु नाइकेहरुको समेत सहभागितामा नः टोल पलेस्वा पुखु संरक्षण समितिले साउन १ गते सो जग्गामा पोखरीनै बनाउनुपर्ने दवाव दिदै शिलान्याससमेत गरे ।

महानगरपालिकाको दायित्वमाथि हस्तक्षेप गरी स्थानीयले शिलान्यास गरी पार्किङ स्थलमा सोही दिनदेखि तालाबन्दी गरेपछि महानगरपालिका र स्थानीयबीचको सम्बन्ध चिसिएको छ । दश दिनदेखि पर्यटकीय सवारी साधन पार्किङ गर्न नपाएपछि पाटन दरबार क्षेत्र र वरपरका पर्यटकीय क्षेत्र घुम्न आएका पर्यटकलाई समस्या परेको छ । पर्यटन व्यवसायीले तत्काल पार्किङ व्यवस्थापन गर्न महानगरपालिकालाई आग्रह गरिरहेका छन् । महानगरले अहिले सम्झौता अवधिभरका लागि पार्किङ र त्यसपछि पोखरी बनाउने योजना अघि सारेको छ । नेपाल भ्रमण वर्षमा दैनिक २ हजार अर्थात प्रतिमहिना ६० हजार पर्यटकलाई ललितपुरको दरबार क्षेत्र भित्र्याउने लक्ष्य राखेको महानगरपालिकामा पार्किङ समस्याको विषय बन्दैआएको छ ।

वास्तुकला, पोखरी, भवन, मूर्ति वा शालिक आदिका कारण काठमाडौं उपत्यका पर्यटकका लागि आकर्षणको केन्द्र बन्दैआएको छ । सो स्थानमा २०२१ सालसम्म पोखरी थियो र त्यहाँ पुनः पोखरी नै बन्नुपर्छ भन्ने स्थानीयको माग अत्यन्त जायज छ । महानगरपालिकाले पनि पोखरी नै बनाउने प्रतिवद्धता जनाएको छ । विवाद छ त केबल समयमा– पोखरी खनिहाल्ने कि पर्यटन वर्षको समापनपछि खन्ने भन्ने सबालमा । एक–आपसमा इमान्दारी र विश्वास रहने हो भने, यो कुनै समस्या नै होइन ।

दुई पक्षबीच अनौपचारिक–औपचारिक वार्ता र समझारी भएर तत्काल समस्या समाधानमा पुग्नु जरुरी देखिएको छ । दुवै पक्षले एक–अर्काबीच ‘जीत–जीत’ हुनेगरी निर्णयमा पुग्नु आवश्यक छ । नगरपालिकाले पर्यटन वर्षसकिनासाथ पोखरी खन्ने सम्झौता गरी समस्या सुल्झाउनुपर्छ भने विरोधी पक्षले पनि पर्यटन वर्ष सफल बनाउन महानगरपालिकालाई सघाउनुपर्छ । भविष्यमा पोखरी र नेपाल भ्रमण वर्ष लक्षित गरी पर्यटक सवारीलाई निर्वाध रुपमा पार्किङ गर्न दिनु सबैको हित अनुकूल हुनेछ । महानगरको यस कार्यप्रति सबैले सहयोग गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्