संसद भवनमा ढलको पानी, ११ दिनलाई बैठक स्थगित



सरोज यादव, विराटनगर । अविरल वर्षाका कारण १ नम्बर प्रदेशसभा संसद भवनमा ढलको पानी जमेपछि बैठक ११ दिनका लागि स्थगित भएको छ ।

संसद भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमे पछि सुचना टाँस गरी बैठक स्थगित गरिएको हो । संसद संचालन सुरु भएको १७ महिना पुगेको छ । तर, पुरानै भवन र पुरानै संरचनाको पनि उपर्युक्त ढंगले मर्मत सम्भाव नगरिँदा बुधबार बस्ने भनिएको संसद बैठक पानी जमेरै अवरुद्ध हुन पुग्यो ।

त्यति मात्रै होईन बैठकस्थलमा हज भरिएर फोहोरयुक्त पानी बैठकस्थलको मूल ढोकामै जमेको थियो । वर्षा रोकिएसँगै सुरक्षाकर्मीहरुले रोष्टम अगाडिको पानी सफा गरेको भएपनि मूल ढोकाको पानी बैठक सुरु हुने समय दिउँसो १ बजेसम्म पनि जमिरहेको थियो । पानी जम्दा मात्रै बैठक चल्न सक्थ्यो होला तर, त्यहाँ अत्यन्तै दुर्गन्धीत अवस्था भएपछि बैठक स्थगित गरिएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको भनाइ छ ।

प्रदेशसभाको बैठक कक्षभित्र सांसदहरूले प्रयोग गर्ने दुईवटा शौचालयको हज भरिएर हलभित्रै ढल पसेका हो । ‘त्यस्तो दुर्गन्धमा कसरी बैठक बस्ने भन्ने कुरा भयो, तत्काललाई बर्षात रोकिने कुरा समेत नभएपछि एकसाता सारौं भन्ने कुरा भयो’ कार्यव्यवस्था परामर्श समिति सदस्य सांसद बिष्णु तुम्बाहाम्फेले भनिन् ‘एकसाता सार्दा पनि शुक्रबार र शनिबार पर्ने भएकोले ११ दिनका लागि बैठक स्थगित गर्ने सहमति भयो ।’

बुधबारका लागि बोलाइएको १ नम्बर प्रदेशसभाको २७ औं बैठकमा भाग लिन हस्ताक्षर समेत गरेर बैठककक्षतर्फ प्रवेश गरेका अधिकांश सांसदहरू भित्रको दुर्गन्धले हलभित्र प्रवेश नगरी पहिलो तलामा रहेका आ–आफ्ना संसदीय दलको कार्यकक्ष र सभामुखकहाँ गएका थिए । सभामुख भण्डारीले तत्कालै यसको व्यवस्थापनका लागि प्राविधिक टोलीलाई जिम्मा लगाइसकेको बताउनु भयो । त्यसको उपर्युक्त व्यवस्थापन आजैदेखि काम सुरु भएको उहाँको भनाइ छ । गत वर्ष पनि संसद भवनमा पानी पसेको थियो । गत असार महिनामा पनि वर्षाका कारण पानीको जमेको थियो ।

त्यसबेलै उपर्युक्त व्यवस्थापन गर्न नसक्दा अहिलेको अवस्था आएको कतिपय सांसदको भनाइ छ । नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले त संसद बैठकको अवस्था यस्तो देखिँदा जनता कसरी बसेका होलान् भनि प्रश्न गर्नुभयो । उहाँले १७ महिनासम्म सामान्य मर्मत गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष पनि गर्नुभयो । संसद बैठक साउन १९ गतेसम्मका लागि स्थगित गरिएको हो । सो समयावधिमा जमेको पानी फ्याक्ने र आगामि दिनमा त्यस्तो हुन नदिने गरी काम गर्ने संसद सचिवालयको तयारी छ ।

बुधबारको बैठकमा प्रदेश लोकसेवा आयोग गठन सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यक्रम राखिएको थियो । संसद स्थगित भएसँगै उक्त छलफलकोे कार्यक्रम पनि लम्बिएको छ । प्रदेशसभा १ मा सत्ताधारी दल नेकपाको दुई तिहाईको सरकार छ ।

प्रदेशको राजधानीको मुख्य केन्द्र विराटनगर तोकिए पनि सत्तारुढ दलकै केही सांसदहरू प्रदेशसभा भवन विराटनगरमा बनाउन नदिने लविङमा छन् ।

प्रतिक्रिया दिनुहोस्