बीपी फेरि चाहियो



नेपाली कांग्रेसका संस्थापक नेता एवम् समाजवादी चिन्तक बीपी कोइरालाको ३७औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको साउन ६ गते नेपाली कांग्रेसले आफ्ना प्रभावशाली नेताको स्मृतिमा विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने गर्छ । तथापि, बीपी स्मृति दिवसको उत्साह भने घट्दै गएको छ । केही औपचारिक कार्यक्रम गरेर मात्रै बीपीप्रति सच्चा श्रद्धाञ्जलि हुँदैन । बीपी कांग्रेसका मात्र नेता नभएर आमनेपालीका जनप्रिय नेता हुन् । उनी जहानियाँ शासनविरुद्धको वि.सं. २००७ को जनक्रान्तिका नायक, देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री, राष्ट्रवादी राजनेता, प्रखर बौद्धिक व्यक्तित्व, समाजवादी चिन्तक र वरिष्ठ साहित्यकार पनि हुन् ।

आज नेपाली समाज परनिर्भरतामा बाँच्नुपरेको छ । धान–चामल, तरकारी–फलफूल, घिउ–तेल, चिनी, मसलादेखि दैनिक उपभोग्य सामग्री भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने नियति छ । आयात प्रतिस्थापन गर्न उत्पादन बढाउनेतर्फ राज्यको ध्यान जान सकेको छैन । अहिले समय फेरिएको छ, तर नियति फेरिएको छैन । बीपीले आफ्नो समयमा हरेक नेपालीलाई बस्ने एउटा बास, अलिकति अन्नपात, दूध खान एउटा गाई होस् भनेका थिए । यो आत्मनिर्भरता झल्काउने समाजवादी आदर्श थियो । तर, उनको आदर्श न कांग्रेसले अनुशरण गर्न सक्यो, न राज्यले ।

बीपीले योजना आयोगको कार्यकक्षमा हलो जोतिरहेको किसानको तस्वीर किन राख्न लगाएका थिए ? स्मार्ट सिटी होइन स्मार्ट गाउँ बनाउने बीपीको आदर्श आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । बीपीको समाजवादलाई भजाएर कांग्रेसले धेरै वर्ष मुलुकको नेतृत्व ग¥यो । तर, किसानलाई गाईभैँसी पाल्न र खेतबारी उर्वर बनाएर उत्पादन बढाउन कांग्रेसले सिकाएन, बरु परम्परागत किसानी पेसा अंगाल्ने दाजुभाइहरु वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा श्रम बेच्न बाध्य भए । आज परिणाम के भयो ? गाउँ रित्तिए, खेतबारी बाँझो पल्टिए, परनिर्भरता बढ्यो ।

बीपीको आदर्श र समाजवादी चिन्तन कांग्रेसका लागि राजनीति गर्ने माध्यम मात्र बन्यो । बीपीको देहावसानसँगै उनको समाजवाद किताबका पानामा सीमित बन्यो । कांग्रेसले केही औपचारिक कार्यक्रम गरेर प्रक्रिया पूरा गरिरहेको छ । कांग्रेसले आफ्ना अग्रज नेताको स्मृतिमा जति उत्साह देखाउनुपर्दथ्यो, त्यो नदेखिनु विडम्बनापूर्ण छ । बीपी र प्रजातन्त्र नेपालको सन्दर्भमा एक–अर्काका पर्यायजस्तै मानिन्छन् । सम्पूर्ण देशले नै प्रजातन्त्रका लागि आफूलाई बलिदान दिएको महान् नेताका रूपमा उनलाई स्वीकार गरेको छ । नेपाली राजनीतिका शीर्ष पुरुष बीपीले नेपालमा प्रजातन्त्र ल्याउन खेलेको भूमिकालाई कसैले नजरअन्दाज गर्ने भूल गर्नुहुँदैन ।

राणाकालको उत्कर्षको समयमा नेपाली कांग्रेसको स्थापनादेखि लिएर त्यस व्यवस्थाविरुद्ध उनले गरेको संघर्षबाट प्राप्त सफलता अहिले धेरैका लागि अनुकरणीय बनेको छ । २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत हासिल गर्दा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीले नेपालमा प्रजातन्त्रलाई संस्थागत गर्न ठूलो योगदान गरेका थिए, जुन इतिहासले सगर्व मूल्यांकन गर्दै आएको छ । जीवनको उर्बर समय स्वदेशमै जेल जीवन भोगेका बीपी २०३३ सालमा मेलमिलापको नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किएलगत्तै नेपालमा नयाँ युगको सूत्रपात भएको थियो ।

बीपीजस्तो दूरदर्शी नेतालाई त्यति बेला सम्पूर्णरूपमा देशले चिन्न नसकेको अवस्था भए पनि उनको अभाव अहिले निकै महसुस हुँदै गएको छ । उनको देहावसानपश्चात् बीपीको जस्तो विशिष्ट उचाइका नेता नेपालमा जन्मिन सकेका छैनन् । बीपी बहुमुखी प्रतिभासम्पन्न व्यक्ति थिए । उनले नेपाली साहित्यमा पु¥याएको योगदान राजनीतिमा दिएको देनभन्दा कम मान्न सकिँदैन । खासगरी, नेपाली उपन्यास र कथाका क्षेत्रमा विशिष्ट मोड दिन सफल स्रष्टा व्यक्तित्व बीपीको साहित्यिक लेखन आजपर्यन्त उत्तिकै प्रभावशाली छ । शताब्दीमा मात्र जन्मिन सक्ने यस्ता महान् व्यक्तित्वलाई नियतिले लामो समय रहन दिएन । क्यान्सरजस्तो घातक रोगबाट वि.सं. २०३९ मा उनको निधन भयो । उनको अभाव सिंगो नेपाली राजनीति र साहित्यिक क्षेत्रमा महसुस हुँदै आएको छ । महान् नेता बीपीप्रति हार्दिक श्रद्धाञ्जलि !
– सुवास आचार्य (कांग्रेस समर्थक), हाल: काठमाडौं ।

पेट्रोलियम पाइपलाइन: विकासको नयाँ शुरुवात
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको परीक्षण सफल भएको छ । नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि ६० सालमा सम्झौता भएको थियो । तर, निर्माणको काम भने ०७४ सालदेखि मात्रै शुरु भएको हो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ काम अघि बढे पनि १८ महिनामै काम सम्पन्न हुनु यो आयोजनाको सुखद पक्ष हो । कुल ६९.२ किलोमिटर लामो पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिन्छ ।

मोतिहारी–अमलेखगञ्ज क्रस बोर्डर पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न हुनु मुलुकका लागि निकै ठूलो उपलब्धि हो । यसबाट मुलुकलाई ठूलो राहत हुने निश्चितजस्तै छ । पहिलो कुरा त ढुवानी भाडा मात्रै वार्षिक १ अर्ब रुपियाँ बराबर हुने तथ्यांक नेपाल आयल निगमले निकालेको छ । दोस्रो कुरा, ढुवानीका साधनहरूद्वारा सडकमा हुने क्षति तथा सडक जामको समस्या हट्नेछ । तेस्रो कुरा, एक–दुई दिन सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको हाहाकार हुने अवस्था धेरै हदसम्म टर्नेछ । चौथो कुरा, सामान्य माग राखेर आन्दोलन गर्दा पनि पेट्रोलियम ढुवानी अवरुद्ध पारेर राज्यलाई घुँडा टेकाउने प्रवृत्तिको समूह निस्तेज हुनेछ । पाँचौँ कुरा, पेट्रोलियम चुहावटमा धेरै हदसम्म कमी आउनेछ ।
तर समस्या अझै बाँकी नै छन् । विराटनगर, नेपालगञ्जलगायतका क्षेत्रका लागि अमलेखगञ्जबाट ढुवानी गर्नुभन्दा भारतबाटै ढुवानी गर्नु छिटो र सस्तो पर्ने अवस्था छ । अर्थात् प्रदेश २, ३ र गण्डकीबाहेक अरू प्रदेशका लागि त्यति धेरै उपलब्धि दिँदैन । हुन त करिब ७० प्रतिशत पट्रोलियम खपत यी तीनवटा प्रदेशले मात्रै गर्छन् । अब अमलेखगञ्जसम्म आएको उक्त पाइपलाइनलाई कम्तीमा चितवनसम्म विस्तार गर्न ढिलाइ गर्नुहुन्न ।

पेट्रोलियम पाइपलाइन निर्माण हुँदैमा हौसिइहाल्नुपर्ने अवस्था भने छैन । पेट्रोलियम पदार्थ आयातमा भइरहेको वृद्धि यथावत् रहने हो भने मुलुक आर्थिकरूपमा आत्मनिर्भर बन्ने सम्भावना रहन्न । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य बढ्नासाथ नेपालको अर्थतन्त्र नै संकटमा पर्ने अवस्था छ । पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उत्साहजनकरूपमा वृद्धि भइरहेको छ । अबको तीन वर्षभित्र मुलुकमा कम्तीमा ३ हजार र पाँच वर्षभित्र ५ हजार मेगावाट जलविद्युत् उत्पादन भइसक्ने ऊर्जा मन्त्रालयको प्रक्षेपण छ । उत्पादित बिजुली निर्यात गर्नुभन्दा पेट्रोलियम गाडी विस्थापित गरी विद्युतीय गाडी सञ्चालनको अभियान शुरु गर्नुपर्छ । साथै, विद्युतीय रेल निर्माणतर्फ केन्द्रित हुनुपर्छ ।
– नारायण नेपाल (शिक्षक) ।

प्रतिक्रिया दिनुहोस्