शहरी पन्छी बुझ्ने कसरत



टीका बन्धन
मानव बस्तीसँग घुलमिल हुन रुचाउने पन्छीका प्रजाती धेरै छन् । तर बढ्दो शहरीकरणले शहरी क्षेत्रमा पन्छीको चहल–पहल पातलिदै गएको छ । मानव बासस्थानमा आएको परिवर्तन र बढ्दो वातावरण एवं ध्वनी प्रदुषण, रुख बुट्यान र खेतीयोग्य जमिन मासिएपछि शहरी भू–भागमा पन्छीको चहल पहल घट्न थालेको विज्ञहरुको ठहर छ ।

शहरी क्षेत्रमा आइरहेको परिवर्तनले पन्छीका प्रजातीमा परिरहेको प्रभावबारे नेपाल पन्छी संरक्षण संघ (बीसीएन)को अगुवाईमा केही वर्षयता अनुगमन हुन थालेको छ । काठमाडौं उपत्यका केन्द्रित अध्ययन, अनुसन्धान र गणना मध्य हिउँद र गर्मीयाममा हुँदै आएको छ । उपत्यकाको मुख्य शहरी क्षेत्र, अर्ध शहरी र ग्रामिण भेगमा पन्छी अनुगमन हुँदै आएको छ । सन् २०१६ यता उपत्यकाका दुई दर्जन भन्दा बढी भू–भाग पहिचान गरेर पन्छी गणना गर्ने गरिएको बीसीएनका पन्छीविद् ज्योतेन्द्रज्यू ठकुरीले बताए ।


चार वर्षको गणनालाई नियाल्दा भँगेरा र डाङ्ग्रे रुपी घटेको पाइएको छ भने कालोचिलको संख्या बढेको छ । काग र परेवाको चहल–पहल भने स्थिर रहेको ठकुरीले बताए । तर गणना अवधि लामो नभएकाले कुनै प्रजाती विशेषको संख्या घटे बढेको भन्न हतार हुने उनको भनाई छ । ‘चार वर्षको अध्ययनलाई आधार मानेर यति छिटै यति प्रजाति घटे बढे भन्न हतार होला, १०÷१२ वर्षको निरन्तर अनुगमन भएको खण्डमा मात्रै पन्छीका प्रजातीको वास्तविक अवस्था थाहा पाउन सकिन्छ’–ठकुरीले प्रष्ट्याए ।

गतवर्ष २०१८ को हिउँदमा ८९ प्रजातिका ७ हजार ९८ र गर्मीयाममा ८१ प्रजातिका ६ हजार ९ सय ७४ पन्छी गणनामा समेटिएको बीसीएनले जनाएको छ।

गणनामा आगन्तुक र रैथाने दुवैथरीका पन्छी समेटिन्छन्, गणना पहिचान गरिएको क्षेत्रमा सात दिनसम्म निरन्तर अनुगमन जारी रहन्छ । एउटा क्षेत्रमा एक किलोमिटर हाराहारीको भेग समेटिन्छ । यही वर्ष सन् २०१९को हिउँदयाममा ८८ प्रजातीका ६ हजार सातसय ७१ पन्छी फेला परेका थिए । दुई महिना अघि, गर्मीयामको गणनामा ७१ प्रजातीका ७ हजार ३ सय १८ पन्छी रेकर्ड गरिएको छ ।

गतवर्ष २०१८को हिउँदमा ८९ प्रजातीका ७ हजार ९८ र गर्मीयाममा ८१ प्रजातीका ६ हजार ९ सय ७४ पन्छी गणनामा समेटिएको बीसीएनले जनाएको छ । त्यसैगरी २०१७ को हिउँदमा ९३ प्रजातीका आठ अभिलेख भएको छ भने सोही वर्षको गर्मी मौसममा ६३ प्रजातीका ६ हजार ६ सय ३६ पन्छी भेटिएका थिए । चार वर्ष अघि सन् २०१६को हिउँदमा ८५ प्रजातीका ६ हजार चार सय ९६ भेटिएका थिए भने सोही वर्षको गर्मीयाममा ७२ प्रजातीका सात हजार दुई सय ५३ पन्छी गणनामा समेटिएका छन् ।


गणनामा एक सय भन्दा बढी स्वयंसेवी खटिने गर्छन् । शहरीकरणको नकारात्मक प्रभाव अन्य पन्छीमा देखिएपनि परेवा र कागलाई भने तत्काल कुनै गम्भिर प्रकृतिको चुनौती नदेखिएको गणक बताउँछन् ।

चार वर्षको गणनामा नियमित खटेका नेदरल्यान्डस्का नागरिक एरिन्ड भेन भने वस्तीमा घुलमिल हुने स्वभावका बाहेक अन्यपन्छी जोखिममा पर्न थालेको बताउँछन् । बढ्दो जनसंख्या, पूर्वाधार विकास र शहरीकरणले पन्छीको चहल–पहल पातलिन थालेको उनको बुझाई छ । शहरी भेगका खोला, नदी सिमसार र तालतलैयामा आश्रित आगन्तुक र रैथाने दुवै प्रकृतिका पन्छीको विचरण क्षेत्र खुम्चिदै गएको भेनले बताए ।


नेपालमा अभिलेख भएका पन्छी प्रजातीको संख्या आठ सय ८६ पुगेको छ । काठमाडौं उपत्यकामा साढे ५ सय हाराहारीका प्रजाती पहिचान भएका छन् । शहरीकरणले उपत्यकाका पन्छीको संख्या पातलिदै गएको चर्चा चलिरहदा पन्छीका केही प्रजाती शहरी भेगका नयाँ संरचनामा पनि अनुकूलित हुन प्रयास गरिरहेका देखिन्छन् । बीसीएनका अर्का पन्छीविद् कृष्ण भुसाल भन्छन्–‘चीलले बिजुलीका हाइटेन्सन लाइन, सारौ (रुपी)ले गुजुल्टिएका टेलिफोन तार, भँगेराले घरका प्वाल, सटर सहित घरका पाइपलाइनको निकासमा गुँड बनाइरहेको देखिन्छ ।’

उनले दोहो¥याउँदै भने–‘आजकल कागले गुँड बनाउँदा रुखका हाँगाविगा भन्दा पनि विद्युतीय र अन्य तारको प्रयोग गरिरहेको देखिन्छ ।’ यस्तो गणनाले काठमाडौं उपत्यकाको समग्र भेगलाई सुक्ष्म ढंगबाट नसमेटेपनि पन्छीको अवस्था बुझ्न÷बुझाउन सघाउ पुग्ने भुसालको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्