किसानलाई उन्नन जातका बोका



अमृत अर्याल, स्याङ्जा ।
वालिङका व्यवसायिक किसानहरुलाई अनुदानमा आधुनिक प्रविधि र उन्नन जातका बिउ बोका वितरण गरिएको छ । वालिङ नगर कार्यपालिका पशु सेवा केन्द्रले प्रदेश, जिल्ला कहीँ कतैबाट पनि अनुदान नपाएका किसानहरुलाई छनोट गरी १ लाख ९० हजार रुपैँयाको आधुनिक प्रविधि र बिउ बोका वितरण गरेको हो ।

५ ओटा बाख्रा फर्मलाई प्रजननका लागी बिउ बोका, ३ ओटा गाई तथा भैँसी फर्मलाई दुध संकलनका लागी मिल्क केन र ३ ओटा पशुफर्मलाई नापतौलका लागी कम्प्युटर प्रणालीको तराजु प्रदान गरिएको हो । वितरण कार्यक्रममा नगरपालिका उपप्रमुख एवं कृषि शाखा संयोजक कल्पना तिवारीले वालिङको दृष्टिकोण उत्पादनतर्फ रहेको बताउनुभयो ।

सरकारले कृषिमा लगानी गरेपनि सोचेजस्तो उपलव्धी पाएका छैनौ उपप्रमुख तिवारीले भन्नुभयो, “कृषि प्रदान देश भनिन्छ विडम्बना यहाँ उत्पादन हुने जमिन बाँझै भएकाले उचित उत्पादन लिन सकिएको छैन् ।” यहाँका जग्गा जमिनलाई सही सदुपोग गर्दै आधुनिक प्रणालीको प्रयोग गरी कृषकहरुलाई उत्पादनमुलक कार्यमा जोड्ने नगरपालिकाको मुख्य ध्येय रहेको उपप्रमुख तिवारीको भनाई थियो ।

कृषि र पशु व्यवसायलाई अगाडि बढाउन कृषकको गुनासो सुन्न नगरपालिकाले कृषकहरुसंगै प्रत्यक्ष छलफल गर्ने आश्वासन उपप्रमुख तिवारीको छ । काम गर्नेलाई सम्मान गर्ने वातावरण सृजना नभएसम्म समृद्धिको यात्रा पुरा हुँदैन् उपप्रमुख तिवारीले भन्नुभयो,“किसानलाई थप उत्साह प्रदान गर्न सफल किसान छनोट गर्नुपर्ने आवश्यकता देखिन्छ ।”

एक गाउँ एक उत्पादन कार्यक्रमका साथ नगरपालिका लागिपरेको भन्दै माटो, हावापानी परिक्षण गरी उपयुक्त उत्पादनतर्फ प्रतिवद्ध रहेको तिवारीकोे भनाई थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले कृषिमा आत्मनिर्भर हुनुपर्ने भन्दै राज्यले सकारात्मक वातावरणको सृजना गर्नुपर्ने बताउनुभयो । कामकै आधारमा हुने हेयभाव अन्त्य गर्नका लागी पोसाकमा एकरुपता, प्रोत्साहन स्वरुप पुरस्कार समेत प्रदान गर्नुपर्ने सुवेदीको भनाई थियो ।

कार्यक्रममा नगरपालिका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डे, कृषकहरुको तर्फबाट चित्र प्रसाद रेग्मी लगायलते नगरपालिकाले लगानी गरेको अनुदानलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पशु विकास अधिकृत हुमनारायण श्रेष्ठले वालिङ अण्डा र मासुमा समेत आत्मनिर्भर रहेको भन्दै अनुदान वितरण कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।

उपप्रमुख तथा कृषि संयोजक तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्राविधिक देवकुमारी श्रेष्ठ र सञ्चालन लेखनाथ अर्यालले गर्नुभएको थियो । वितरण गरिएको बोकाको पशु विमा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्