टेलिकमको एफटीटीएचमा कम्बो प्याक



काठमाडौं, (नेस) ।
नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा यसअघि जडान भएका तथा नया“ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ ।

नेपाल टेलिकमले प्रवद्र्धनात्मक अफरअन्तर्गत यो सेवा लिने ग्राहकका लागि कम्पनीको नेटवर्कभित्र मात्र कल गर्न मिल्ने गरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो । सो अफर असार मसान्तदेखि समाप्त भएकाले साउन ५ गतेपश्चात एफटीटीएच प्रविधिमार्फत सञ्चालित ल्यान्डलाइन नम्बरमा पर्याप्त ब्यालेन्स नभएमा भ्वाइस कल सेवा बन्द हुन सक्नेछ । त्यसैले समयमै मासिक रेन्टल चार्जको रुपमा न्यूनतम २ सय ६० रुपिया“ रिचार्ज गरी सेवा सुचारु राख्न सकिनेछ । मासिक रेन्टलवापत नेपाल टेलिकमको नेटवर्कभित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ । अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्नेछ ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । नजिकको दूरसञ्चार कार्यालयबाट, एमपोस प्रविधिबाट, बैंकबाट, नेपाल टेलिकमका कुनै पनि नम्बरबाट १४१२ मा डायल गरी वा नेपाल टेलिकमको वेबसाइटमार्फत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने छ ।
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जसअन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेजअन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र एक वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेज उपलब्ध छन् ।

नया“ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ । छ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा ३ हजार छुट, नया“ जडान गर्ने ग्राहकलाई एकसय मिटर फाइबर निःशुल्क रहेको छ ।
समर अफरअन्तर्गत एफटीटीएच इन्टरनेट सेवामा नया“ कम्बो प्याकेज ल्याएको छ । यी प्याकेज १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय, ३ महिनाको ३ हजार ४ सय, ६ महिनाको ६ हजार ४ सय र एक वर्षको १२ हजार ३ सय रुपिया“ रहेको छ ।

त्यसैगरी २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपिया“ रहेको छ । ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपिया“ रहेको छ । ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपिया“ रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्