एक करोडको विकास बजेट खर्च भएन



बुद्ध नेपाली, सिन्धुली । प्रदेश नं. ३ सरकारले सिन्धुलीको दुधौली नगरपालिकामा सुरु गरेको सामुहिक चक्लाबन्दी खेतीका लागी १ करोड बजेट विनियोजन गरेको थियो ।

उक्त सामुहिक चक्लाबन्दी खेतीलाई आवश्यक पर्ने १० थान यन्त्रउपकर अनुदानमा वितरणका लागी प्रदेश सरकारले आर्थिक बर्ष २०७५।०७६ मा विनियोजन गरेको रकम खर्च नै भएन् । सामुहिक चक्लाबन्दी खेतीमा अहिले धान रोपिदैछ ।

प्रदेश सरकारले सामुहिक चक्लाबन्दी खेतीका लागी ठुलो ट्याक्टर, धान काट्ने, धान रोप्ने, प्रसोधन गर्ने लगाएतका १० थान ठूला कृषि यन्त्रउपकरण वितरण गर्नका लागी एक करोड बजेट विनियोजन गरेको थियो ।

तर उक्त यन्त्रउपकरणका लागी कुनै पनि आवेदन नपर्दा बजेट रकम नै फ्रिज भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले बताए । १० थान ठुला यन्त्रउपकरण वितरणका लागी दुई पटक सम्म सुचना प्रकासन गर्दा समेत कुनै आवेदन परेन । उनले भने‘ पहिलो पटक प्रकास गरेको सुचनामा पनि कुनै आवेदन नआएपछि म्याद थप गरेर पुनः आवेदन आह्वान गर्दा पनि आवेदन नपरेपछि अन्तिममा रकम फ्रिज गयो’ ।

गोलन्जोर गाउपालिकाको वडा नं. ५ देखि चिसापानी नयाँखर्क हुदै भक्तीराम सम्म जोड्ने कृषि सडक निर्माणका लागी प्रदेश सरकारले ३६ लाख बजेट विनियोजन गरेको थियो । उक्त कृषि सडक स्तरउन्नती, ड्रेन निर्माण लगाएतका कामका लागी बजेट आए पनि असारमसान्त सम्म पनि काम सुरु हुन नसकि सवै रकम फ्रिज भयो ।‘ उक्त सडक गोलन्जोर गाउपालिकाको सहयोगमा ट्रयाक खाल्दैछ । त्यसमा स्तरउन्नती, ड्रेन निर्माण, ग्रडिङ गर्न लगाएतका काम गर्न रकम आएपनि उपभोक्ता समितीको कुरा नमिल्दा काम नै सुरु नभई बजेट फ्रिज भयो’ । उनले भने ।

प्रदेश सरकारको यो एउटा नमुना योजना मात्रै हो । सिन्धुलीमा प्रदेश नं. ३ सरकार मार्फत आर्थिक बर्ष २०७५।०७६ मा छनोट भएका अधिकाशं योजनाहरु अधुरा रहेका छन् । प्रदेश सरकारले सिन्धुलीका लागी विनियोजन गरेको बजेट मध्ये आधा मात्रै रकम खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीको प्रारम्भिक तथ्याँङ अनुसार प्रदेश सरकारकोतर्फबाट विनियोजित बजेट मध्ये ५६ दशमलव ७१ प्रतिशत मात्रै रकम खर्च भएको छ । पुँजीगत तर्फ ६३ करोड ७३ लाख ७१ हजार रुपैया बजेट विनियोजन भएकोमा ३६ करोड १४ लाख ५२ हजार रुपैया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका कोष नियन्त्रक तथा सुचना अधिकारी सुरेश प्रसाद दाहालले बताए ।

त्यस्तै प्रदेश सरकारको चालुगत तर्फ बजेटमा पनि ७३ दशमलव ०३ प्रतिशत मात्रै खर्च भएको छ । कोष नियन्त्रक दाहालका अनुसार चालुगत तर्फ ३२ करोड १८ लाख बजेट विनियोजन भएको मध्ये २३ करोड ५० लाख ५ हजार मात्रै खर्च भएको छ ।

संघ सरकारको बजेट तर्फको खर्चको अवस्था पनि यस्तै छ । संघ सरकारको पुँजीगत तर्फको बजेट ७१ दशमबल ५७ प्रतिशत मात्रै खर्च भएको छ । संघ सरकारको पुँजीगत तर्फ विनियोजित कुल बजेट १ अर्ब ३० करोड ३० लाख ७५ हजार मध्ये ९३ करोड २६ लाख ५१ हजार मात्रै खर्च भएको देखिएको छ ।
संघ सरकारको आर्थिक बर्ष २०७४।०७५ मा पुँजीगत तर्फ ७४ दशमलव ६० प्रतिशत खर्च भएको थियो ।

केन्द्रीय सरकारको चालुगत तर्फ ९१ दशमलव ४१ प्रतिशत खर्च भएको कोष नियन्त्रक दाहालले बताए । ७ अर्ब ४६ करोड २ लाख २७ हजार विनियोजित बजेट मध्ये ६ अर्व ८१ करोड ९५ लाख ५८ हजार मात्रै खर्च भएको छ ।
संघ सरकारको चालुगत तर्फ आर्थिक बर्ष २०७४।०७५ मा ९४ दशमलव ४६ प्रतिशत खर्च भएको कोष नियन्त्रक दाहालको भनाई छ ।

कोष नियन्त्रक दाहालका अनुसार आर्थिक बर्ष २०७५।०७६ मा संघ सरकार तर्फ ३० करोड ४६ लाख ९१ हजार राजश्व असुली भएको छ । प्रदेश सरकार तर्फ १ करोड २६ लाख ३ हजार रावश्व असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस्