छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ५ पक्राउ



काठमाडौं । प्रहरीले सोमबार दिउँसो एकजनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

कपिलवस्तु, मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट बाणगंगा नगरपालिका १ जितपुर बस्ने १८ वर्षीय कृष्ण खाणलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ पिस र विनस्पास्मो १ सय १८ ट्यावलेट सहितप्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री खाणलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका १० स्थित सडकबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका ९ बस्ने १८ वर्षीय रोहित बुढा र कालिकोट शुभकामना गाउँपालिका ३ बस्ने २१ वर्षीय प्रकाश रोकायलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा जुत्तामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट चितवन भरतपुर महानगरपालिका १० बस्ने १८ वर्षीय अनिस सिन्जाली मगरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट २१ पिस र नवलपरासी मध्यबिन्दु नगरपालिका ५ बस्ने २० वर्षीय वसन्त पुनलाई नाईट्रोभेट ट्यावलेट १९ पिस सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्