अविवाहित एकल महिलालाई नगरपालिकाले भत्ता दिने



विमल विष्ट, डोटी । सरकारले श्रीमान बितेका एकल महिला तथा बृद्ध बृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिईरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति, कार्यक्रम तथा बजेट मार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडी बढाउने भएको छ । कम्तीमापनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलाहरुलाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनिहरुलाई सिपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिईने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्तीमा पनि ५० वर्ष सम्म बिहे नगरेर एकल जिवन यापन गरिरहेका महिलाहरुको बैकल्पिक व्यवस्था नभए सम्म सामाजिक भत्ता दिईने योजना वनाएका छौँ, त्यस्ता महिला लाई भत्ता दिइने छौँ ।” बिहेनगरेर एकल बसेका महिलालाई उक्त कार्यक्रमले आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगरपालिकाभित्र ५० वर्षसम्म बिहे नगरी बसेका एकल महिलाहरु के कति संङख्यामा छन्, उनिहरुलाई परिचय पत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधी तयार गरीन लागेको नगरपालिका निमित्त प्रशासकिए अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । आगामी मंङसिर महिनादेखि उक्त कार्यक्रम शुरुवात गर्ने गरी कार्यविधि तयार गरिने नगर पालिकाले योजना बनाएको ।

बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले यो नौलो कामको शुरुवात गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो । दिपायल सिलगढी नगरपालिकामा ५० वर्ष सम्म बिहे नगरेर एकल जीवनयापन गरीरहेका दजर्नौ महिलाहरु हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्