सामुदायिक साकोस र गाउँवेशी साना किसान कृषि सहकारी बीच एकिकरण



नेपाल समाचारपत्र, काभ्रे ।
काभ्रेको पनौतीमा केन्द्रिय कार्यालय रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानमा अर्को पाइला चालेको छ ।

यस अघि जेष्ठ १४ गते बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी संस्था र असार २५ गते मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी संस्थासँग एकिकरणको सम्झौता गरिसकेको सामुदायीकले फेरी आज मंगलबार बल्थली स्थित श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्थासँग एकीकरणको सम्झौता गरेको छ । यी ३ वटा सहकारी संस्थाहरु एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने भएको छ भने यो संस्थामा २५ हजार भन्दा बढी शेयर सदस्य हुने भएका छन् ।

पनौती ४, टौखालमा मुख्य कार्यालय राखि जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको सामुदायीकले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत आफ्नो आफ्नो छवी उच्च राखेको छ । एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानमा निरन्तरता दिइरहेको छ ।

तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गाविस कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको थियो । सामुदायीकले २०७३ सालमा बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको थियो भने छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

सामुदायीक र गाउवेशी दुवै दुबै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभाहलमा बृहत छलफल गरी आज मंगलबार एकिकरण सम्झौता सम्पन्न भएको प्रमुख कार्यकारि अधिकृत मदन बस्नेतले बताउनु भएको छ । उक्त कार्यक्रममा गाउँवेशी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विद्यामणी हुमागाईले सानो पूँजिको संस्थाबाट शेयर सदस्यहरुले सम्पूर्ण वित्तिय सेवा पाउन नसक्ने र प्रशासनिक खर्चहरुका कारण सदस्यहरुले प्राप्त गर्ने सेवा तुलनात्मक रुपमा महंगो समेत हुने भएको साथै राज्यले एकिकरण अभियान समेत अघि सारेकोले हामी सामुदायिक साकोससँग एक भएर जान सहमत भएका बताउनु भएको थियो । उहाँले अन्य सहकारी संस्थाहरुलाई पनि एकिकरणको लागि आव्हान गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रकाश बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदन प्रदान गर्दै सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गरीरहेको अवसरमा एकिकरण अभियानमा हातेमालो गर्न गाउँवेशी साना किसान कृषि सहकारी संस्थाले यो अवसर तयार गरेकोमा संस्थाका सबै पदाधिकारीप्रति आभार व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष बञ्जाराले एकिकरण अभियानका सम्पूर्ण अभियन्ताहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै अन्य सहकारी संस्थाहरुसँग पनि एकीकरणको छलफल अगाडी बढेको, केही संस्थाहरु निर्णय तहमा पुगीसकेको जानकारी दिनुभएको थियो । यसै क्रममा उहाँले अवको अभियान सहकारी संस्था एकीकरणको अभियान हो, त्यसैले सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले एकीकरणको लागि ढोका सदैब खुल्ला गरेकोले निश्वार्थ स्वागत गर्न तयार रहेको अभिब्यक्ति ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा क्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिना, उपाध्यक्ष कुमार प्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, सञ्चालक सदस्य रामकृष्ण घिमिरे लगायतको उपस्थित रहनुभएको थियो । कार्यक्रममा गाउँवेशी साना किसान कृषि सहकारी संस्थाका एकिकरण कार्यदलका अन्य सदस्यहरु उपाध्यक्ष राजु थापा, सचिव पुनम त्रिपाठी, कोषाध्यक्ष शंकरमान लामा, ब्यवस्थापकसरिता काफ्ले र कार्यालय सहायक सुवर्ण थापाले शेयर सदस्यका हितका लागि सञ्चालकहरुको ब्यक्तिगत स्वार्थ त्याग गरी एकीकरणका लागि तयार रहेको प्रतिक्रीया राख्दै एकिकरण सम्झौता गरिएको बताएका थिए ।

एकिकरण सम्झौता कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्री मदन बस्नेतले एकिकरणको सम्झौता पत्र प्रस्तुत गर्नुभएको थियो । सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २२४०० जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८४ करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १९ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब ३० करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४६ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ५३ जनालाई रोजगारी प्रदान गरेको छ । संस्था शुसासनमा सञ्चालनका निमित्त ५६ वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ ।

गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि.को ४ सय ५० जना शेयर सदस्यहरुको ६० लाख कुल पुँजी परिचालन गर्न सफल भएको छ । सहकारी संस्थाहरु एकीकरण पश्चात अब २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार भन्दा बढी शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउनेमा कुनै दुईमत देखिदैन । दुबै संस्थाका शेयर सदस्यहरु एकीकरण पश्चात गुणस्तरिय सेवा पाईने र संस्थाको सञ्चालन खर्चमा न्यूनीकरण भई लाभांश दरमा बृद्धि हुने अपेक्षा सहित संयुक्त साधारण सभा हुने प्रतिक्षामा उत्साहित रहेका छन् । सहकारी अभियन्ताहरुले संस्थाहरु एकीकरण गर्ने अभियानलाई सामुदायिकले नेतृत्व गर्नुपर्ने र अन्य सहकारी संस्थाहरुसँग समेत एकीकरणको प्रस्ताव पठाई छलफल अगाडी बढाउनु पर्ने कुरा सुझाउँदै दुबै संस्था सिघ्र एकीकरण होस् भनि शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्