ब्रिगेड ब्वाइजद्वारा उपाधि रक्षा



नेपाल समाचारपत्र, काठमाडौं ।
ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले ललित स्मृति यु १८ फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।

आईतबार सातदोबाटोस्थित एन्फा मैदानमा प्रतियोगिताको चौथो संस्करणको फाइनल खेलमा बीबीसीले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराएको हो । योसँगै बीबीसीले प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि हात पा¥यो । योसँगै बीबीसीले ३ लाख नगद तथा विभागिय टोली पुलिसले १ लाख ५० हजार नगद प्राप्त गरे । २०७३ सालदेखि तत्कालीन एन्फाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ । जसमा त्रिभुवन आर्मी क्लबले शुरुका दुई संस्करणमा उपाधि जित्यो भने अहिले बीबीसीले दुई उपाधि जितेको छ ।

बीबीसीलाई उपाधि दिलाउन ब्रिजेश चौधरीको निर्णायक गोल नै पर्याप्त भएको थियो । जुन गोल २३औं मिनेटमा भएको थियो । यसपछि दुबै तर्फबाट गोलको प्रयास भएपनि गोल भने गर्न सफल भएन । पुलिसका लागि यो प्रतियोगितामा पहिलो फाइनल थियो । तर टोलीले यसको मौका उठाउन सकेन । पुलिसका लागि रविन राईले ७०औं मिनेटमा पोस्ट एट्याक गरेका थिए । तर उनी बराबरी गोल गर्न केही इन्चले चुकेका थिए ।

प्रतियोगितामा बीबीसीका फरवार्ड ब्रिजेश चौधरी, मिडफिल्डर शिशिर लेखी र प्रशिक्षक सुवित कार्की उत्कृष्ट घोषित भए । अन्य विधा उत्कृष्ट हुनेमा विभागिय टोलीको झोलामा गएको थियो । आर्मीका गोलकिपर विशाल सुनार र पुलिसका डिफेन्डर विशाल बस्नेत उत्कृष्ट भएका थिए । उनीहरुले जनही १०÷१० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्