किन डुब्यो न्युरोड ?



नेपाल समाचारपत्र, बाँके
आइतबार विहान एकछिन पानी प¥यो । नेपालगञ्जको न्यूरोड डुवानमा प¥यो । न्यूरोडको बीच खण्ड सेतुविक चोक आसपासमा बाढी नै आयो, सवारी साधन चल्नै मुश्किल हुने गरी ।

त्यही न्यूरोड हो, जसलाई नेपालगञ्जको नयाँ बजार लाइनको रुपमा कल्पना गरिएको छ । नयाँ बजारको रुपमा विकास गर्न त्यहाँ एकैप्रकारका घरहरु बनाइएका छन् । नयाँ बजार लाइनको अवधारणाले गर्दा त्यहाँका घडेरी महंगोमा बिके । अढाई दशक अघि त न्यूरोड क्षेत्र खाल्टो र झाडी नै थियो ।
त्यो बजार क्षेत्र थोरै पानी पर्दा किन डुब्छ ? नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र महर्जन भन्छन्, ‘बजार बिस्तार गर्दा राम्रो डिभाइन भएन । व्यवस्थित नाली बनाइएन । सम्बन्धित निकायले खाली महंगोमा घडेरी बिक्री गर्ने काममात्रै ग¥यो ।’

न्यूरोडमा व्यवस्थित नाली बनाइएन । न त त्यहाँ सवारी साधन पार्किङकै व्यवस्था छ । बजारको डिजाइन गर्नेहरुले यी दुई कुरालाई ख्याल नै गरेनन् । जसको असर अहिले त्यहाँका मानिसले भोगिरहेका छन्, थोरै पानी पर्दा बाढी आउँछ । सवारी साधन लिएर किनमेल गर्न जादा राख्ने ठाउँ हुँदैन ।

नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोड हुँदै कर्णाली विकास बैंकको छेउबाट पानी बग्ने ठूलो नाला बनाएको छ । त्यसको न्यूरोड खण्डमा काम पूरा भएको छैन । इन्जिनियर महर्जनले न्यूरोडको पानीको निकासका लागि उपमहानगरपालिकाले नाला बनाइरहेको बताए । भएको नालालाई सफा गरेर पानी बगाइएको छ ।

नालाले थेग्ने भन्दा बढी पानी जमेपछि न्यूरोडमा डुवान हुने गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसी भन्छन्, ‘पानी त नालाबाट गइरहेकै छ । सबै पानी एकैपटक जान सकेको छैन । बिस्तारै जादै गर्दा न्यूरोडमा पानी तालिने गरेको छ । नालीको क्षमता भन्दा बढी पानी आएपछि तालिने त भइहाल्यो नि ।’ उनका अनुसार, नेपालगञ्ज बजारको पानी तीन वटा नालाबाट निकास हुन्छ । एउटा न्यूरोड हुँदै कर्णाली विकास भएर, अर्को भेरी प्राविधिक हुँदै र तेस्रो गणेशमानचोक हुँदै परसपुर भएर ।

यी तिनै वटा नालीलाई सफाई गरिएको छ । त्यसबाट बग्नु पर्ने पानी बगेका छन् । ‘नालाको क्षमता भन्दा बढी पानी आएपछि केहीबेर त पानी तालिहाल्छ नि ?, सरसफाई शाखाका अधिकृत केसी भन्छन्, ‘घाँटी भन्दा हाड ठूलो भएपछि अडकिन्छ ।’
थोरै पानी पर्दा पनि न्यूरोड डुवानमा पर्नुमा खाली नगरपालिकाकै मात्रै दोषी छैन । स्थानीयवासीले पनि केही न केही जिम्मेवारी लिनु पर्छ । घर, पसलबाट निस्किने फोहोर, प्लाष्टिक, गुट्खाका खोल नालीमै फाल्ने गरिन्छ । साना नालीको निकासले यसले थुन्ने गर्दछ ।

न्यूरोड डुवानमा पर्दा सधैं नगरपालिकाविरुद्ध बोल्ने व्यापारी अगुवा कृष्णप्रसाद श्रेष्ठले न्यूरोड डुवानमा परिरहेको बेलामा अझ पछाडीको नालाको आकार घटाएर बनाउन थालेपछि काम नै रोकाइदिएका थिए । पछि नगरपालिका र स्थानीयवासीको सहमतिमा बढाएर बनाइयो ।

न्यूरोड त एउटा उदाहरण हो, अब बजार बिस्तार गर्दा व्यवस्थित डिजाइन गर्नुपर्छ भन्ने । पछिल्लो समयमा यो कुरा नगरपालिकाका अधिकारीले पनि मनन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्