नेपाललाई थप दुई स्वर्ण



काठमाडौं, (नेस) ।
नेपालले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते ।

च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते ।

पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए ।

यस्तै पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे । यसैगरी टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात पा¥यो ।

प्रतिक्रिया दिनुहोस्