कडा सुरक्षा घेराबीच लोकसेवा परीक्षा



हेटौंडा । हेटौंडामा लोकसेवा आयोगले कडा सुरक्षा घेराबीच परीक्षा लिएको छ । लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा आन्दोलनमा रहेको आदिवासी जनजातिको विरोधका कारण परीक्षामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा १ सय नेपाल प्रहरी र ५० जना सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच परीक्षा सम्पन्न भएको हो ।
मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले आदिवासी जनजातिको विरोधका कार्यक्रम र त्यसबाट उत्पन्न हुनसक्ने अप्रिय घटनालाई मध्यनजर गरेर सुरक्षा व्यबस्था कडा परिएको बताउनुभयो ।

आदिवासी जनजातिले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै विज्ञापनको विरोध गर्दै आन्दोलन गरिरहेका बेला हेटौंडाका सबै परीक्षा केन्द्रमा शुक्रबार र शनिबार सुरक्षा घेरामा परीक्षा भएको हो । मकवानपुरका प्रहरी उपरीक्षक सिंहले परीक्षा केन्द्रमा परीक्षालाई लक्षित गरी कुनै नकरात्मक किसिमको कार्य नभएको बताउनुभयो ।

लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत ५ सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते ९ हजार भन्दा बढी पदका लागि विज्ञापन खुलाएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्