डोटीमा परीक्षार्थीको बास खोज्न सीडीओ र डिएसपी खटिए



विमल विष्ट, डोटी । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पद र तहको परीक्षा र अन्य परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थीले बस्ने बास नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल तथा प्रहरी प्रबक्ता (डिएसपी) लालबहादुर धामी परिक्षार्थीको बास खोज्न आफै खटिनु भएको छ ।

भोली शनिवार हुने लोकसेवा आयोगको परिक्षामा सामेल हुन बिभिन्न जिल्लाबाट कमितमापनि ६ हजार जना परीक्षार्थी डोटीमा आईपुगेका छन् । उनिहरुलाई यहाँका होटेल तथा अन्य ठाउमा बास बस्न समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी पौडेल तथा प्रहरी प्रबक्ता (डिएसपी) लालबहादुर धामी बासबस्ने व्यवस्था मिलाउनका लागि आफै खटिनु भएको छ । बस्ने बास नपाएर अल्पत्र परेका परिक्षार्थीहरुलाई यहाँका खाली रहेका बिभिन्न सरकारी कार्यालय संघ संस्थाका कार्यालयहरुमा बस्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिक्षार्थीको संङ्ख्या बढी भयो,होटेल कमैमात्रामा छन्,उनिहरुको बासका लागि मैले आफै गएर यहाँका बिभिन्न कार्यालय तथा संघ संस्थाका कार्यालयमा बस्ने व्यवस्था मिलाएको छु,अब सबैले बास पाउनु हुने छ ।”

प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामी सहितको टोलीले जिल्लाको राजपुर, पिपल्ला, एयरपोर्ट र सिलगढीका विभिन्न स्थानहरूमा अनुगमन गर्नुका साथै परीक्षार्थीको बसाई व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्दै आफै खटीनु भएको हो ।

त्यस्तै परीक्षार्थीको बासको व्यवस्थापनमा दिपायल सिलगढी नगरपालिका, नेपाल रेडक्रस सोसाईटी, नेपाली सेना, नेपाल प्रहरी,डोटी उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश लगायत सबैले सहयोग गरिरहेका छन् । थोरै होटेल भएका कारण परिक्षार्थीलाई डोटीमा बास बस्नका लागि वर्षौनी समस्या हुदै आएको डोटी उद्योग बाणिज्य संघका महासचिब दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सानो ठाउ र थोरै होटेल भएकाले समस्या त हुन्छ नै तर हामीले सबै परिक्षार्थीका लागि उचित बस्ने व्यवस्था भने मिलाउदै आएका छौँ,कोठा नपाएर कोही अल्पत्र पर्ने छैनन् ।”

लोक सेवा आयोगले गत असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा स्थानीय तहका विभिन्न पदमा देशैभरीमा कुल नौ हजार १६१ कर्मचारीको विज्ञापन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्