भन्सार छली आएका भारतीय नम्बर प्लेटका छ गाडी प्रहरी कारवाहीमा



विष्णु तिमिल्सिना, बर्दिया ।
भारतीय नम्वर प्लेट भएका भन्सार छली गरी अवैध रुपमा नेपाल प्रवेश गरेका ६ वटा विभिन्न गाडीहरुलाई स्थानिय गुलरिया नगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ ।

गोप्य सूचनाको आधारमा गुलरिया न.पा.का विभिन्न स्थानहरुमा भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भारतीय नम्वर प्लेट भएका गाडीहरु सडक किनारा छेउमा वेवारीसे पार्किङ्ग गरी राखिएको अवस्था जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको प्रहरी टोलीले फेला पारी ति गाडीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय इकाई कार्यालय कोहलपुर बाँकेमा पठाएको कुरा प्रहरी उपरिक्षक राजेश नाथ वास्तोलाले जानकारी गराउनु भयो ।

नियन्त्रणमा लिएका गाडीहरुमा UP40AD4317 नं.को स्कारपियो, UP40N4951 को WAGONR, HR26BB5723, UP32FZ1122 को INNOVA, UP32EE6406, UP40W1111नं.को कारहरु जम्मा रहेका छन् । ति गाडीको स्थानिय मुल्य करिव ७७ लाख रुपैया पर्ने कुरा बास्तोलाले जानकारी गराउनु भयो । भारतीय नम्वर प्लेटका गाडीहरु यती धेरै मात्रामा गुलरियामा एकै पटक कारवाही गरेको यो सम्भवत पहिलो पटक हो, सिमावर्ति भारतीय क्षेत्रबाट गाडीहरु आएर चलिरहेको भएता पनि प्रहरीले कारवाही नगरेको जनगुनासो रहेको थियो । नेपालका यातायात व्यवसायीहरुले पनि यस विषयमा गुनासो गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्