जिस्क्याउँथें म उनी दंग पर्थिन्



गायक सुमनकुमार श्रेष्ठले आफ्नो सातौं एकल गीति अडियो एल्बम बिहानी ४ मा संगृहित गीत जिस्क्याउँथें म, उनी दंग पर्थिन् सार्वजनिक गराएका छन्।

विन्ध्यवासिनी म्युजिक कम्पनी र गायक श्रेष्ठ प्रबन्ध निर्देशक रहेको विन्दु हार्डवेयरको संयुक्त आयोजनामा राजधानीमा हालै सम्पन्न एक समारोहबीच गायक श्रेष्ठकी आमा सावित्रीदेवी श्रेष्ठ, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकारी र गायक श्रेष्ठले सो गीत संयुक्तरूपमा सार्वजनिक गरेका हुन्।


सुमनका सांगीतिक गुरु संगीतकार दीपक जंगमको संगीत र गीतकार दिनेश अधिकारीको शब्द रहेको जिस्क्याउँथें म, उनी दंग पर्थिन् बोलको सार्वजनिक गरिएको हो। गीतमा सुमनकुमार श्रेष्ठको एकल स्वर रहेको छ। दिनेश डिसीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारीलगायतले अभिनय गरेका छन्।

करिब ३ सय संगीतकर्मीका बीचमा आयोजित समारोहमा गायक श्रेष्ठले आफँलाई चिनाउने आप्mनो लोकप्रिय गीतहरू सुनाएर मनोरञ्जन प्रदान गरेका थिए। ब्याकअप ब्यान्डको प्रत्यक्ष वाद्यवादनमा सुमनकुमारले टोपी लाए पनि हुन्छ, यो मन, खाएको कसमको लाज राख्नु है, मुटु चोरी लाने मायालगायतका गीत सुनाएर सांगीतिक आनन्द दिलाएका थिए। समारोहमा गीतकार राजेन्द्र थापाले गायक श्रेष्ठको बायोग्राफी भिडियो सार्वजनिक गरेका थिए।

विन्ध्यवासिनी म्युजिक कम्पनीको बजार व्यवस्थापन रहेको गीतको म्युजिक भिडियो युट्युबमा समेत सोही समयमा सार्वजनिक गरिएको थियो। गायक श्रेष्ठले सार्वजनिक गीतबाट पाएको प्रतिक्रियाले आफँ अत्यन्त खुसी भएको बताए।

प्रतिक्रिया दिनुहोस्