नर्मल डेलिभरी गराउने महिला बढे



रोशन पराजुली,हेटौंडा

मकवानपुरमा पछिल्ला वर्षका तथ्यांक हेर्ने हो भने अस्पतालमा नर्मल डेलिभरी गराउने महिलाको संख्या बढ्दो अवस्थामा देखिएको छ।
हाल नर्मल डेलिभरीतर्फ महिला आकर्षण बढेको हेटौंडा अस्पतालको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०७५÷०७६ को तथ्यांक हेर्दा असार २० गतेसम्म दुई हजार १५ जनाले नर्मल डेलिभरी गरेका छन्।

शल्यक्रियामार्फत् तीन सय ३८ जनाले शिशु जन्माएका छन्। यो गत वर्षको तुलनामा बढेको हेटौंडा अस्पताल सुत्केरी कक्ष इञ्चार्ज देवकी खतिवडाले बताउनुभयो। गत वर्ष नर्मल डेलिभरीको एकिन तथ्यांक नभए पनि शल्यक्रियामार्फत् शिशु जन्माउनेको संख्या करिब चार सय ५० रहेको खतिवडाको भनाइ छ।

अस्पतालमा विभिन्न कारणबश बच्चा खेर जानेको संख्या दुई सय ३८, बच्चा नचाहिएको अवस्थामा गर्भ बस्नेको संख्या १४ र १२ हप्ताभन्दा माथि र १८ हप्ताभन्दा तल ३५ को संख्यामा शिशु खेर गएको अस्पतालको तथ्यांक छ।चिकित्सकका अनुसार केही वर्ष यता शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम अस्वभाविकरूपमा बढ्दो देखिएको थियो। गर्भमा रहेको बच्चामा कुनै समस्या देखिए चिकित्सकले नै शल्यक्रियाका लागि सिफारिस गर्छन्, जुन अनिवार्य पनि हो। तर, कतिपय अवस्थामा बिरामी स्वयम्ले शल्यक्रियाद्वारा बच्चा जन्माउने इच्छा गर्ने गरेको खतिवडाले बताउनुभयो।

प्राथमिक स्वास्थ्य सेवा केन्द्र वा स्वास्थ्य चौकीमा सामान्य प्रसूति गराउन नसकेर सरकारी अस्पताल रिफर गरिएका बिरामीका कारण पनि शल्यक्रिया हुने गरेको अस्पताल इञ्चार्ज खतिवडाले बताउनुभयो। समान्य प्रक्रियाबाट बच्चा जन्म भएर आमा र शिशु दुवै स्वस्थ्य छन् भने २४ घण्टाभित्र डिस्चार्ज भएर घर जान सक्छन्। तर, अपरेसन गरियो भने पाँच÷सात दिन बस्नुपर्ने हुन्छ।

‘अस्पतालमा धेरै गर्भवती शल्यक्रिया गरेर बच्चा जन्माउने भन्दै आउँछन्। तर, हामी काउन्सिलिङ गर्छौं र नर्मलरूपमा बच्चा जन्माउँछन्। शल्यक्रियाले त्यस समय र यसपछिको समयमा अत्यधिक रक्तश्राव हुनसक्छ। अत्यधिक रक्तश्राव व्यवस्थित तरिकाले रोक्ने वातावरण नबन्दा आमाको ज्यान जानसक्छ।शल्यक्रिया गरेर बच्चा जन्माउँदा काटिएको घाउ पाक्ने खतरा बढी रहने उहाँले बताउनुभयो।

सरसफाइमा ध्यान दिइएन र घाउ पाक्यो भने कीटाणु संक्रमणको खतरा रहन्छ। संक्रमणले शरीरमा रोग निम्त्याउन सक्छ।

एकपटक शल्यक्रिया गरेर बच्चा जन्माएकी आमाले अर्को पटक बच्चा जन्माउँदा पनि शल्यक्रिया नै गर्नुपर्ने बाध्यात्मक अवस्था आउनसक्छ। दोस्रो पटक पनि शल्यक्रिया गर्दा आमाको स्वास्थ्य थप कमजोर बन्न जान्छ। यस्ता कुराले अस्पतालमा आएका गर्भवतीलाई चेतना दिने कारण पनि केही हदसम्म अपरेसन गरेर शिशु जन्माउनेको संख्या घट्दो अवस्थामा रहेको खतिवडाले बताउनुभयो।

शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पनि कतिपय गर्भवती र उनका परिवारले आपत्कालीन सहजताका लागि शल्यक्रियाबाट बच्चा जन्माइदिन चिकित्सकलाई दबाब दिने गरेका धेरै उदाहरण हुन्छन्। सम्बन्धित चिकित्सकले पनि अत्यावश्यक अवस्थाबाहेक सामान्य डेलिभरीमा जोड दिने गरेको खतिवडाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्