गरियोस् मिसन पत्रकारिता !



पत्रकारिता जगत्मा तीन शब्द बारम्बार प्रयोग भइरहन्छन्– मिसन पत्रकारिता, पैरवी पत्रकारिता र एजेण्डा सेटिङ । यी तीनवटै शब्दावलीमा समानता छ नियतको । सञ्चारगृहले योजना र कार्यक्रमका साथ समाचार–विचार सम्प्रेषण गर्ने काम यसमा हुन्छ । मिसन, भिजन र गोलका आधारमा उद्देश्य तयार पारेर परियोजना सञ्चालन गर्नु एक व्यावसायिक अभ्यास हो । निर्धारित विषयमा नीतिगत स्तरमा प्रभाव पार्नेगरी बारम्बार कलम चलाइरहनु पैरवी पत्रकारिता होभने पाठक–दर्शक–स्रोताले अमुक समाचार वा विचार पढेर, सुनेर वा हेरेर ठोस प्रकृतिको अवधारणा बनाऊन् भनेर गरिने पत्रकारिता एजेण्डा सेटिङ हो ।

सञ्चार गृहले पत्रकारिताका लागि जस्ता एजेण्डा बनाउँछ सोहीअनुसार दर्शक–स्रोता–पाठकका एजेण्डाहरु निर्माण हुनेगर्दछन् । असल नियतले बृहत्तर हितका लागि खुला रुपमा यी तीनवटै अभ्यासलाई जसले सफलताका साथ निर्वाह गर्छ, समाजमा उसकै वर्चश्व कायम रहन्छ । त्यसैले मिसन, एड्भोकेसी र एजेण्डा सेटिङका सबै विधि पूर्ण जानकारीका साथ मिडियाले प्रयोग गर्नैपर्छ, यस कार्यलाई कसैले गलत भन्छभने उसको अज्ञानता मात्र हो ।

यस सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता गरेर आफूलाई आलोचना गर्नेगरिएको जो टिप्पणी गर्नुभयो त्यसमा उहाँको अज्ञानता नै देखिन्छ । मिसन पत्रकारिता गर्नुहुन्न भन्ने उहाँको जो आशय छ, त्यसलाई सही भन्न सकिन्न । पत्रकारितासम्बन्धी सिद्धान्त र दर्शनले मिसन पत्रकारिता आवश्यक छ भनेको छ । उहाँको आलोचना गरिएको सन्दर्भलाई नै हेर्नेहो भने पनि आपत्तिजनक देखिन्न ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि मिसन पत्रकारिता गरेर आफूलाई खेदो खनिएको धारणा राख्नुभएको थियो । यसमा विज्ञहरुले आ–आफ्नो धारणा पनि सार्वजनिक गरिसकेका छन् । मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ भनेका छन् । विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, दलविहीन पञ्चायती व्यवस्था फाल्न, अधिनायकवादी पद्धति हटाउन, सामन्तवादी सत्ता अन्त्य गर्न पैरवी ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने ?

बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा व्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न । करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनरले पनि मिसन पत्रकारिताको आवश्यकता औंल्याउनुभएको छ । असामान्य अवस्थामा प्रेसले मिसनका साथ अघि बढ्नुपर्छ भन्ने उहाँको धारणा छ । नयाँ प्रविधिले सृजना गरेको आजको विशेष अवस्थामा परम्परागत सञ्चार माध्यमले मिसन बिर्सियो भने यसको अस्तित्व रहन्न भन्ने उहाँको निष्कर्ष छ । हामीले किन पत्रकारिता गर्ने, हाम्रो मिसन के हो भन्ने विषयमा प्रष्ट हुनैपर्छ, अन्यथा नयाँ मिडियाका अगाडि परम्परागत मिडियाको अर्थ हुँदैन । वस्तुतः मिसन पत्रकारिता हिजो थियो र भोलि पनि रहन्छ, रहनु पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्