जोखिममा बीपी राजमार्ग



मधुसूदन रायमाझी, काठमाडौं ।
राजधानी काठमाडौंलाई तराईसँग जोडन वैकल्पिक सडकको रुपमा रहेको विपी राजमार्ग जोखिममा परेको छ । स्थानीय तहमा सडक निर्माण गर्ने होडवाजी र बढदो क्रसर उद्योगको कारण विपी राजमार्ग जोखिममा परेको हो ।

बर्षाको समयमा जथाभावी निर्माण गरिएको ग्रामिण सडकको कारण विपी राजमार्गमा लेदो र पहिरो खस्ने क्रम बढेको छ । अझ असारे विकासको कारण सडक नै अवरुद्ध हुने गरी लेदो र खहरे उर्लिने गरेका छन् । रोशी खोला र सुनकोसी नदी किनारा हुँदै निर्माण भएको विपी राजमार्ग पछिल्लो केही बर्षयता ग्रामिण सडक निर्माणको चपेटामा परेको छ ।

‘गाउँगाउँमा सडक निर्माण गरिएको छ, कुनै डिजाइन छैन, उपभोक्ता समितिले हचुवाकै भरमा सडक निर्माण गर्ने गरेका छन्’स्थानीय राज मैनाली भन्नुहुन्छ,‘पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ ।’ राजमार्ग आसपासबाट निर्माण हुने सहायक सडक निर्माण गर्दा अनिवार्य रुपमा सडक विभागबाट अनुमति लिनु पर्ने नियम भएपनि स्थानीय सरकारले उक्त नियमलाई वेवास्था गर्दै आएका छन् । जसको परिणाम बिपी राजमार्गसँग देशका मुख्य राजमार्गहरु जोखिममा पर्दै गएका छन् ।


सूर्यविनाय–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका आयोजना प्रमुख सूर्य भाटले क्रसर उद्योग र स्थानीय तहमा ग्रामिण सडक निर्माण गर्ने होडबाजीको कारण विपी राजमार्ग जोखिममा परेको बताउनुहुन्छ । उहाँले नेपाल समाचारपसँग भन्नुभयो,‘बारम्बार आग्रह गर्दा पनि बिपी राजमार्ग आसपासबाट मापदण्ड विना नै सडक निर्माण गर्ने क्रम रोकिएको छैन, क्रसर उद्योगको कारण पनि सडकको अवस्था जोखिमपूर्ण बनेको छ ।’

 

१५ स्थानमा उच्च जोखिम
क्रसर उद्योगको दादागिरी
स्थानीय तहमा सडक निर्माण गर्ने होडबाजी

आयोजनाले विपी राजमार्ग अन्तर्गत पर्ने माम्ती खोला, भ्याकुर खोला, कालोढुंगामा पुल निर्माणको प्रस्ताव अगाडि सारेको छ । आयोजना प्रमुख भाटका अनुसार यस बर्ष तीन वटा पुलको डिजाइन सम्पन्न गरेर निर्माणको प्रक्रिया अगाडि बढछ । यी स्थानमा रहेको खहरे खोला रहेका छन् । भारी बर्षा हुने वित्तिकै यी तीन स्थानमा आउने देलो र बाढीको कारण विपी राजमार्ग अवरुद्ध हुने गरेको छ । जोखिमपूर्ण स्थानमा जापान सरकारको प्राविधिक टोलीले पनि सहयोग गरिरहेको छ ।

ग्रामिण सडकहरु विना मापदण्ड निर्माण गर्दा विकास भन्दा पनि विनाश निम्तिएको बताउदै उहाँले स्थानीय तहमा सडक निर्माणमा हुने लगानीको दस गुणा बढी विपी राजमार्ग निर्माणमा खर्च हुने गरेको बताउनुहुन्छ ।
तीन दिन अघि आएको अविरल बर्षाको कारण सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमेरेटारमा लेदोसँगै पहिरो आउदा ७२ घण्टा विपी राजमार्ग अवरुद्ध हुन पुग्यो । जसको कारण सयौ सवारी साधन र हजारौ यात्रुहरु अलपत्र परेका थिए । कमेरेफाँट भन्दा माथि बजेट सिध्याउन बर्षाको समयमा सडक निर्माण गर्दा बिपी राजमार्गलाई नै अवरुद्ध गर्ने काम गरेको भन्दै स्थानीयले रुष्ट बनेका छन् ।


जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टन भन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आएका छन् । बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मुकदर्शक बन्ने गरेको छ ।

बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन् । दैनिक यस सडकमा ६ सय भन्दा बढी ट्रिपर क्षमता भन्दा लोड लिएर सञ्चालन हुने गरेका छन् । बेलाबखत प्रहरीले चेकिङ गरेपनि नियमिति रुपमा अनुगमन हुन सकेको छैन् । जसको फाइदा ट्रिपर व्यवसायीहरुले उठाउदै आएका छन् । संगठित रुपमा ट्रिपर सञ्चालक र क्रसर व्यवसायीहरुले स्थानीय प्रशासनलाई प्रभाव पादै बिपी राजमार्गको संरचनालाई जोखिममा पारेको छ ।

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बिपी राजमार्ग अन्तर्गत पर्ने खहरे खोलामा पक्की पुल नहुँदा पनि बर्षाको समयमा यात्रुहरुले हैरानी बेर्होने गरेका छन् । पानी पर्नासाथ साना सवारी आवतजावत गर्न कठिनाई हुने गरेको छ । ग्रामिण क्षेत्रमा मापदण्ड विपरीत निर्माण भएको सडकको कारण सडक आसपासमा निर्माण भएका बस्ती समेत उच्च जोखिमा परेका छन् ।

जटिल भौगोलिक संरचनामा निर्माण गरिएको वीपी राजमार्गमा बीपी राजमार्गलाई चार खण्डमा बिभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । जस अन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किलोमिटर दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि सडक, तेस्रो खण्ड खुर्कोट–नेपालथोक ३६.५ किमि र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि सडक गरी बिपी राजमार्गको दुरी १ सय ६० किलोमिटर रहेको छ । ओभरलोडको सवारी साधन सञ्चालन हुँदा बिपी राजमार्ग ममर्त गर्नको लागि मात्र बार्षिक करोडौ रुपैयाँ खर्च हुँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजार सवारी साधन आवतजावगत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रो वस बढी सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्