भित्तामा धराप जनाउने रातो स्टिकर

बेवास्ता गर्दै कक्षाकोठामा विद्यार्थी



ईश्वरराज ढकाल, काठमाडौं । मुलुकमा करिब तीन सय विद्यालय आज पनि ‘धराप’ वा ‘खतरा’को संकेत गर्ने रातो स्टिकर टाँगेको भित्तामुनि चुपचाप पठनपाठन गरिरहेका छन् ।

विद्यालयका सञ्चालकहरुको जबाफ छ, ‘नयाँ भवन बनाउन जग्गै पुग्दैन, नक्सा पास हुने अवस्था छैन, लालपुर्जा विद्यालयका नाममा आएकै छैन’ ।

सन्दर्भ विसं २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएका विद्यालयको हो । सरकारले त्यस्ता विद्यालयको न भवन बनाइदिन्छ न त रातो स्टिकर लगाएको विद्यालयमा नपढाऊ भन्छ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका विद्यालयमध्य यो आर्थिक वर्षमा ७ हजार ७ सय विद्यालय पुनर्निर्माण सम्पन्न भएपनि ३ सय विद्यालयलाई के गर्ने भन्ने विषयमा सरकारले कुनै निर्णय गर्न सकेको छैन ।

उपत्यकामा आफ्नो स्वामित्वमा जमिन नभएका, करिब ३ आना मात्रै जग्गा भएका सरकारी विद्यालयको संख्या करिब सयको हाराहारीमा छ । ती विद्यालयलाई के गर्ने भन्ने विषयमा सरकारले कुनै निर्णय लिन सकेको छैन । विद्यालय पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख सहसचिव इमनारायण श्रेष्ठले ती विद्यालय पुनर्निर्माण गर्न समस्या भएको जानकारी गराउदै त्यस्ता विषयमा स्थानीय सरकारले चासो देखाउनुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो–ती मध्य केही विद्यालयमा दातृ निकायले रकम पठाउदा पनि भवन निर्माण हुन सकेको छैन । भिरालो, पहिरो जाने, नदीको छेउमा रहेका , आफ्नो नाममा लालपुर्जा नभएका र थोरै जग्गा भएको विद्यालय भवन तत्काल बनाउन सक्ने अवस्थामा नभएको स्पष्ट पार्दै उहाले भन्नुभयो–यो गम्भीर विषय हो, यस विषयमा कि त मन्त्रीपरिषद् होइन भने स्थानीय सरकारले जिम्मा लिएर विद्यालय मर्ज गर्ने वा पुननिर्माण गर्नुपर्छ ।

उहाका अनुसार उपत्यकामा मात्रै ९६ वटा विद्यालयमा यस्तो समस्या देखिएको छ । काठमाडौमा २५, भक्तपुरमा २४ र ललितपुरमा ५ वटा विद्यालय पुननिर्माण गर्न समस्या भएको उहाको भनाई छ । इकाइले हालसम्म ४ हजार विद्यालय भवन को पुनर्निर्माण सम्पन्न गरिसकेको छ । २ हजारमा काम भैरहेको र १ हजार विद्यालय पुननिर्माण गर्न छनौट भैरहेको जनाएको छ । इकाइले विद्यालय पुननिर्माण गर्ने जिम्मा पाएको ७ हजार ५ सय ५३ विद्यालय आगामी आर्थिक वर्षसम्म सम्पन्न गरिसक्ने उहाको भनाई छ । हाम्रो स्कुल विष्णुमती खोलाको किनारमा छ । फेरी भुकम्प आएपछि विद्यालय ध्वस्त हुने अवस्थामा छ ।

हाम्रो नाममा ३ आना मात्र जग्गा छ कसरी विद्यालय बनाउने । भोगचलन गरेको मध्य अन्य जग्गाको लालपुर्जा छैन, यसो हो भने विद्यालय भवन निर्माण हुनै सक्दैन भनेर सरकारले भन्छ । लौ न अब के गर्ने ? भूकम्पले क्षतिग्रस्त वालाजुको वालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार मुडभरीले भन्नुभयो –कि विद्यालय बन्द गर भन्नुप¥यो, होइन भने विद्यालय भवन निर्माण गर्न सरकारले तदारुकता देखाइदिनुपयो ।

भक्तपुरको सिद्दिसारदा आधारभूत विद्यालयका प्रअ धनेस राजभण्डारीले आफ्नो स्वामित्वमा ३ आना १ पैसा जग्गामा विद्यालय भवन बनाउन नमल्निे भएपछि समस्या भएको बताउनुभयो । उता मंगलबजारको आदर्श कन्या माविमा पनि त्यस्तै समस्या छ । सहायक प्रअ आनन्द ढुंगानाले भन्नुभयो–४ रोपनी जग्गा भएर पनि विद्यालय पुनर्निर्माण गर्न सकेका छैनौं ।

हनुमानढोका दरबारक्षेत्रभित्र पर्ने यट्खास्थित कन्या माविका प्रअ गोपीचन्द्र पौडेलले भन्नुभयो– सरकारले रातो स्टिकर लगाइदिएको छ । भुकम्पले क्षतिग्रस्त विद्यालयमा विद्यार्थी पढिरहेका छन् । बिसं १९८० सालमा स्थापना भएको यो विद्यालयको हालत दर्दनाक छ ।

काठमाडौ जिल्ला आयोजना एकाइ (शिक्षा) प्रमुख अर्जुन रायमाझी, ललितपुरका गुणराज पोखरेल र भक्तपुरका डिल्लेश्वर प्रधानले आफ्नो स्वामित्वमा जग्गा नभएको विद्यालयको भवन निर्माण गर्न समस्या भएको र स्थानीय सरकार र मन्त्रिपरिषदले निर्णय नगरेसम्म समस्या समाधान हुन कठिन रहेको जनाउनुभएको छ ।

ललितपुर महानगर शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले समस्या भएको विद्यालयको विषयमा महानगरपालिकाले अध्ययन शुरु गरेको जानकारी दिनुभयो । काठमाडौं महानगर शिक्षा प्रमुख तारापति खरेलले समस्या देखिएको विद्यालयका प्रअसंग छलफल गरी चाडै निक्र्यौल निकाल्ने तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्