सवारी दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौं । काठमाडौं, रुपन्देही र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं, महानगरपालिका २६ स्थित नयाँबसपार्कभित्र सोमबार दिउँसो ना.६ ख ७६६७ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका करिब ६५ वर्षीय पैदलयात्रीको नेपाल अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको छ । उनको नाम, थर, वतन भने खुलेको छैन । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, सैनामैना नगरपालिका १ बर्माटोलस्थित सडकमा बा.४ ख ६६८२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएर सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका अर्घाखाँची घर भएका ५८ वर्षीय राम बहादुर रायमाझीको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ७ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, बिदेह नगरपालिका ४ स्थित कलामदीन राईनको खेत जोत्ने क्रममा सोमबार साँझ ना।१ त ७९०७ नम्बरको ट्याक्टर पल्टिएर च्याप्दा ट्याक्टर चालक ढल्केवर बस्ने ३० वर्षीय रणधीर महतोको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्