नोबेल शिक्षण अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु



सरोज यादव, विराटनगर । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’सेवा सुरु गरेको छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल शिक्षण अस्पतालका मुटु रोग विशेषज्ञ डा. राजेश नेपालले बताउनुभयो । नोबेलले मुटुको शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित भएका छन् ।

नोबेलमा ओपन हार्ट सर्जरी गराएकी मोरङ केरावारीकी सिर्जना घिमिरेले आफ्नै जिल्लामा जटिल अप्रेशन गराउँन पाउँदा ९ बर्षदेखिको पीडाबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यता, झापा मेचिनगरकी ६४ बर्षीया घाँसीमाया घिमिरेको मुटुको सफल शल्यक्रियापछि उनका भाई तुलसी थापाले पनि धेरै सहज भएको प्रतिक्रिया दिनुभयो । नोबेललाई ओपन हार्ट सर्जरीमा गंगालाल अस्पतालले प्राबिधिक सहयोग गर्ने गरेको छ ।

२०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको नोबेलले यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गर्यो । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको छ ।

सुरुदेखिनै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवा प्रदान गर्दै आएको नोबेलले सेवा बिस्तार गर्दै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवा प्रदान गर्दै आएको छ । ओपन हार्ट सर्जरी सुरु भएपछि अव मुटु रोगको सवै किसिमका उपचारमा नोबेल सक्षम भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

न्यूरो र कार्डियो सेवालाई प्राथमिकता दिएको नोबेलले सवै किसिमको उपचारमा अत्याधुनिक उपकरण र बिशेषज्ञ डाक्टरको व्यवस्थापन मिलाएर स्तरीय उपचार दिदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्