पाँचखाल र मण्डन देउपुरको आलु उपभोग योग्य



मोतीराम तिमल्सिना, काभ्रे । केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन बिषादी अवशेष द्रुत विश्लेष प्रयोगशाला इकाईले जिल्लाबाट परिक्षणका लागि पठाईएका आलुका नमुना परिक्षण गर्दा उपभोग योग्य भएको प्रमाणित गरिदिएको छ ।

आलू सुपरजोन परियोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न स्थानमा रहेका २५ कृषकहरुको आलुमा रहेको विषादी परिक्षणका लागि प्रयोगशालामा पठाएको थियो । ‘२५ कृषकहरुको आलु नुमना परिक्षणका लागि पठाईएको थियो, सबै कृषकहरुले प्रयोग गरेको आलुको विषादी तोकिएको मापदण्ड भन्दा धेरै न्युन भएको प्रतिवेदन प्राप्त भएको छ’–आलु सुपरजोन इकाईका प्रमुख दिपक पौड्यालले भने ।

परियोजना इकाईले आलुमा रहेको कार्बामेछ र अर्गानोफस्फेट परिक्षणका लागि प्रयोगशालामा नमुना पठाएको थियो । रुकावट प्रतिशतका आधारमा ३५ प्रतिशत भन्दा कम उपभोग योग्य हुने र ३५ देखि ४५ प्रतिशत सम्म केहि दिन राख्ने÷पर्खने गर्नु पर्नेमा त्यति प्रतिशत नभएको परिक्षणले देखाएको छ ।

सुपरजोन इकाईले कार्यक्रम लागु भएका क्षेत्रहरु मध्ये धेरै आलु उत्पादन हुने मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकाका २५ कृषकहरुको आलु नमुनाका लागि पठाएको थियो । नमुनाका लागि आलु लिएका कृषकहरुमा मण्डन देउपुर नगरपालिका ७ का शिवराम तिमल्सिना, वडा नम्वर ७ कै केशव श्रेष्ठ, चिरञ्जीवी सापकोटा, विष्णुबहादुर सापकोटा, कृपाराम सापकोटा, इश्वरीप्रसाद सापकोटा, गोविन्दप्रसाद नेपाल, नित्यलाल श्रेष्ठ, मण्डन देउपुर नगरपालिका ८ का विदुरप्रसाद सापकोटा, वडा नम्वर ८ का लिलाबहादुर श्रेष्ठ, कपिन्द्रप्रसाद सापकोटाको आलु नमुना परिक्षण गरिएको थियो भने पाँचखाल नगरपालिका वडा नम्वर १० का विष्णुप्रसाद न्यौपाने, वडा नम्वर ३ का कमला गिरी, वडा नम्वर १० कै केशवप्रसाद आचार्य, वडा नम्वर १० का भवानी लुईटेल, गोपाल श्रेष्ठ, रामगोपाल लुईटेल, वडा नम्वर ३ का मैया गिरी गौतम, पाँचखाल २ का राजु ढकाल, रमा खतिवडा, वडा नम्वर ४ का रामप्रसाद गिरी, वडा नम्वर ६ का सिताराम दुलाल, वडा नम्वर ४ का सरस्वती अधिकारीको आलु नमुना परिक्षण गरिएको थियो ।

यस अघि जिल्लाबाट राजधानी जाने आलुमा अत्याधिक विषादी प्रयोग हुने गरेको थियो । आलु सुपरजोन कार्यक्रम मार्फत विषादी न्युनिकरण तथा प्रयोगको विधी जानकारी गराउँदै उत्पादनमा प्रविधि भित्र्याए पछि विषादी न्युनिकरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्