सल्यानमा बालक्लवको सक्रियतामा बालविवाह रोकियो



सरिता चलाउने, सल्यान
सल्यानमा बालक्लवको सक्रियतामा बालविवाह रोकिएको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा हुँदै गरेको बालविवाह वडा बालक्लवले रोकेको हो ।

च्याउखोलामा शनिवार बालविवाह हुँदै गरेको जानकारी पाएपछि वडा स्तरीय बालक्लव गएर विवाह रोकेको बालक्लवका अध्यक्ष युवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कुमाख गाउँपालिका वडा नम्बर ६ च्याउखोला निवासी १७ वर्षीया दुलहा, र दार्मा गाउँपालिका वडा नम्बर १ निवासी १७ वर्षीया दुलहीबीच हुँदै गरेको विवाह रोकिएको हो ।

बालविवाह हुँदै गरेको स्थानीयले जानकारी दिएपछि बालक्लवको सक्रियतामा विवाह राकेको उहाँले बताउनुभयो । घरमै गएर भईरहेको बाल विवाह रोकेर यसको बारेमा अभिभावकलाई कानुनी कारवाही, भविष्यमा हुनसक्ने जोखिम, वर्तमान अवस्थामा हुन सक्ने समस्या, सामाजिक, सांस्कृतिक रुपमा देखापर्ने समस्याको बारेमा अवगत गराएर बाल विवाह रोकिएको बताउनुभयो ।

दुलहा र दुलहीलाई सम्झाई बुझाई आ–आफनो घरमा पठाईएको उहाँले बताउनुभयो । अभिभावक र उनीहरुले उमेर पुगेपछि मात्र विवाह गर्ने सर्त राखेका छन् । विशेषगरी कानुनमा बाल विवाह गर्नेलाई ३ कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्