मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज, विनोद भण्डारी चम्कीए



नेपाल समाचारपत्र, काठमाडौं ।
दोस्रो टी–२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ ।

किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
सुरुवाती अवस्थामा राम्रो पर्दशन गरेको मलेसियाले बीचमा दवावमा आएको थियो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १–१ विकेट हात पारेका थिए । यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्