संसद्का पीएलाई पनि तालिम



काठमाडौं ।
संघीय संसद सचिवालयले संसदका पिए (स्वकीय सचिव) लाई पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

सचिवालयका कर्मचारी प्रशिक्षण शाखाका अधिकृत भानु पोख्रेलले शनिबार संसदका पिएलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले संसदीय अभ्यास, प्रक्रिया र उहाँहरुको भूमिका थप बलियो बनाउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

गत जेष्ठ २५ गते सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, समिति सभापति, प्रमुख सचेतक, सचेतक, दलका नेता र उपनेताका पिएलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको पोख्रेलले बताउनुभयो । ‘यो गरिसकेपछि संसदका स्वकीयलाई पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न पाए राम्रो हुने महसुश भएकाले आयोजना गरिएको हो’, पोख्रेलले भन्नुभयो– ‘उहाँहरुको काम, कर्तव्य र अधिकारबारे थप छलफल गर्ने र उहाँहरुकै भूमिका प्रभावकारी बनाउनकै लागि अन्तरक्रिया गरिएको हो ।’

कार्यक्रममा सचिवालयका सह–सचिव सुदर्शन खड्का, सचिव ध्रुवप्रसाद घिमिरे र विज्ञका रुपमा सूर्य थापाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । थापाले ‘माननीय सांसदका स्वकीय सचिवको भूमिका र कार्य अनुभव’ घिमिरेले संसदका स्वकीय सचिवको आचरण, कार्य जिम्मेवारी, चुनौती र समस्या समाधान’ को विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सहसचिव खड्काले ‘स्वकीय सचिव र संसद सचिवालयबीच सम्पर्क र समन्वयका क्षेत्रहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । छलफलबाट संसद सचिवालय र स्वकीय सचिवको सम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

कैलाली–५ बाट निर्वाचित नेकपाका सांसद नारदमुनि रानाका स्वकीय सचिव कमल रानाले कार्यक्रमको आयोजना गर्नु सकारात्मक कदम भएको बताउनुभयो । रानाले आगामी दिनमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्नेसमेत कुरा उठाइएको बताउनुभयो । कार्यक्रममा केही पिएले पनि आफ्नो अनुभव सुनाएका थिए । २०७० सालको संविधानसभामा भएका कांग्रेस सांसदहरुका स्वकीय सचिवले पनि एउटा संगठन बनाएका थिए ।

‘हामीले समिति बनाएर केही समय विविध कार्यक्रम ग¥यौं, पछि कार्यकाल पनि सकियो, औपचारिक रुपमा दर्ता गर्न नै भ्याइएन ’ तत्कालीन अवस्थामा बर्दिया –२ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद सञ्जकुमार गौतमका स्वकीय सचिव विशेष गौतमले भन्नुभयो । अहिले भने स्वकीयको कुनै समिति छैन तर उनीहरुले समिति बनाएर सामूहिक आवाज उठाउन सजिलो हुने महसुश गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्