‘बच्चा जन्माउँदैमा आमा भइँदैन’



नेपाल समाचारपत्र, काठमाडौं ।
हामी गरिब नभई हाम्रो आर्थिक अवस्था अलि कमजोर मात्र भएको बताउनुहुन्छ गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट । अन्य मुलुकका सम्भ्रान्त भनेर चिनिनेहरुले नेपालीलाई गरिब भनी हेंला गरेको उहाँ तर्क गर्नुहुन्छ ।

उहाँले आफूले अध्ययन गरेको विद्यालयका भाइबहिनीहरुलाई लगनशील तथा अध्ययनशील भएर पढ्न आग्रह पनि गर्नुभयो । लगाव, मिहिनेत तथा परीश्रम गरे नेपालीहरु संसारमै धनी हुन सक्ने उहाँको तर्क थियो । उहाँले सबै विद्यार्थीलाई गरिबीको बिल्ला हटाउन लागिपर्नुपर्ने सुझाव दिनुभयो ।

आफूले बाल्यकालदेखि नै अध्ययन गरेर प्रवेशिका परीक्षा उत्तीर्ण गरेको विद्यालयमा आफू नै प्रमुख अतिथिका रुपमा प्रवेश गर्दा अनौठो अनुभव भएको बताउनुभयो । शुक्रबार खचाखच विद्यार्थीका बीच एसईई २०७५ को बिदाइ कार्यक्रम चल्दै थियो सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा । सो विद्यालयका २०४८ सालका एसएलसी दिनेहरु मञ्चमा थिए अतिथिका रुपमा । अनि मञ्चमै थिए पूर्वसांसद तथा शिक्षाविद् लक्ष्मण राजवंशी तथा विद्यालयका प्रिन्सिपल रूपक राजवंशी ।

कार्यक्रम अनौठो थियो । पूर्वविद्यार्थी अतिथि, शिक्षक दर्शक स्रोता । अन्य नेता तथा मन्त्रीहरुलाई बोलाएर घन्टौं कुराएर पट्यारलाग्दो भाषण सुनाउनुभन्दा आफ्नै विद्यार्थीलाई अतिथि बनाउँदा नयाँलाई हौसला तथा प्रेरणा मिल्ने भएकाले कार्यक्रममा आफ्नै विद्यार्थीलाई अतिथि बनाइएको बताउनुभयो प्रिन्सिपल रूपक राजवंशीले ।

उहाँले आफ्नो मन्तव्यका क्रममा सुरुमै राजनीति गरेर गगन थापा मन्त्री बनेको तथा जापान गएर भवन भट्ट अर्बपति बनेको गीत सुनाउनुभयो र भन्नुभयो– अब त मैले भनीरहनुपर्दैन कि को हो भवन भट्ट ? आफ्नै विद्यार्थीलाई अथिथि बनाएर संस्कार सिक्ने तथा सिकाउने अभियानका रुपमा आफूले लिएको उहाँले बताउनुभयो ।

त्यस्तै सोही कार्यक्रममा विद्यालयका पूर्वप्रिन्सिपल तथा पूर्वसभासद् लक्ष्मण राजवंशीले बच्चा जन्माउँदैमा आमा हुन नसक्ने बताउनुभयो । बच्चा त सबैले जन्माउँछन् तर आमा हुनलाई संस्कार सिकाउन पर्नेमा उहाँको जोड थियो । त्यस्तै पढाउँदै गुरु बन्न नसक्ने तर्क गर्दै उहाँले असल शिक्षा नदिने व्यक्ति गुरु हुन नसक्ने बताउनुभयो । सो कार्यक्रममा एसईई परीक्षामा ४ जीपीए ल्याउने दुई जनालाई गोल्डमेडलद्वारा सम्मान गरिएको थियो भने अन्यलाई २ सय ६४ जनालाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । अतिथित्रयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्