चक्रपथ सरसफाई अभियान सयौँ हप्तामा



काठमाडौं ।
चक्रपथ सरसफाई अभियानले शनिबार एक सय औं हप्ता मनाएको छ । अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले शनिबार विविध कार्यक्रम गरी यो उत्सव मनाइएको बताउनुभयो । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिमा पनि सफाई हुनुपर्ने र देश र जनताको पक्षमा काम गरौं भन्ने भावना जाग्नुपर्ने बताउनुभयो ।

उहाँले सबै क्षेत्रमा यस्तै अभियान चलाएर समाज परिवर्तनको क्षेत्रमा अभियान चलाएर जानुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा पत्रकार, बाग्मति सफाई महाअभियानका अभियन्ता, विभिन्न सफाई अभियानका अभियन्ताका साथै महिला अभियन्तालाई पनि सम्मान र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अभियानले कलंकीबाट बालाजुसम्म हरेक शनिबार सडक सरसफाई गर्दै आएको छ । चक्रपथ बिस्तार गर्ने अभियान सुरु भएकाले अब केही समयलाई अभियान स्थगित गरिने हेभी ईक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्षसमेत रहनुभएका कुँवरले बताउनुभयो । ‘कमसेकम सातामा एक दिन भएपनि सामाजिक काममा लागौं भन्ने हो तर सबैको सहयोग नपाउँदा भने धेरै समस्या भोग्नुपरेको छ ’ कुँवरले भन्नुभयो ‘अब हामी मठमन्दिर सफाइमा लाग्छौ, अरु अभियानमा सहभागी हुन्छौंं र जनचेतना फैलाउनका लागि हरेक ठाउँमा गएर माइकिङ गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्