पहिरोले पुरिएकी महिलाको ७ घण्टापछि उद्दार , तीनको मृत्यु



हेटौंडा । मकवानपुर निरन्तर वर्षापछिको बाढीपहिरोमा परी ३ जनाले ज्यान गुमाएका छन् । बिहीबारदेखिको निरन्तर वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ निवासी करिब १४ वर्षकी सृष्टि डिम्डुङको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्क्ष राजुमान महर्जनले जानकारी दिनुभयो ।

शुक्रबार साँझ बाटोमा आएको भल कटाउन लाग्दा माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको उहाँले बताउनुभयो । लगातार वर्षाका कारण बेलुका उद्धार गर्न नसकिएपछि शनिबार विहान फाखेल प्रहरी टोलीले पहिरो पन्छाएर शव निकालेको वडा अध्यक्ष महर्जनले बताउनुभयो ।

कैलाश गाउँपालिका वडा नम्बर–१० मा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बेपत्ता भएका स्थानीय सानुकान्छा सुनारको शव शनिबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । खोलाले बगाएर बेपत्ता भएका सुनारलाई बगाएको स्थानबाट करिब दुई सय मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ ।

उत्तरी मकवानपुरको थाहानगर–३ मा महभीर खोलाले बगाउँदा घाइते बालिका सञ्चना बलामीको मृत्यु भएको छ । दम्कीबाट खोलाले बगाएकी उनलाई करिब चार सय मिटर तल स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जनकल्याण माविको कक्षा–६ मा अध्ययनरत् सञ्चनालाई विद्यालयबाट फर्कने क्रममा तथा स्थानीय युवा सन्तोष बलामीलाई दम्कीबाट खोलाले बगाएको थियो ।
मकवानपुरको कैलाश–५, कालीखोलामा पहिरोले पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि उद्दार गरिएको छ । शुक्रवार मध्याह्न पहिरोमा पुरिएकी तारामायाको स्थानीय युवाले साँझ करिब ७ बजे उद्दार गरेको वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।

गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी तारामायालाई उपचारका लागि स्वास्थ्य संस्था लगिएकोे लामाले बताउनुभयो । उहाँको खुट्टा भाँच्चिएको छ भने शरीरका अन्य भागमा चोट छ ।

प्रतिक्रिया दिनुहोस्