पहिरोको उच्च जोखिममा रहेका परिवारको उद्दार



हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–५, माथिल्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका परिवारको उद्दार गरिएको छ । माथिल्लो दमारमा घरमाथि र घरमुनिबाट पहिरो लडेपछि त्यहाँका १८ परिवार बीचमा परेका थिए । पहिरोले घर कतिखेर बगाउने हो भन्ने त्रास बढेको थियो ।

पहिरोको जोखिममा रहेका १८ घरधुरीका ९२ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले लगातार ८ घण्टाको प्रयासपछि सुरक्षित स्थानमा सारेको छ । सेना र प्रहरीले सुरक्षित स्थानमा सर्न आग्रह गर्दा केही बृद्ध मानेका थिएनन् । तर, उनीहरुको जीवनरक्षाका लागि सम्झाइबुझाइ गरेर सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी मकवानपुरका प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताउनुभयो ।

पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारेर राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सारिएका केही व्यक्ति आफन्तजन हुनेहरु भीमफेदी बजार क्षेत्रमा आफन्तको घरमा बसेका छन् । अन्य परिवारलाई भने नेपाल रेडक्रस सोसाइटी उपशाखा भीमफेदीको कार्यालयमा बस्ने व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्