कामदारलाई तलब दिने सहमतिपछि मध्यमोदीको निर्माण कार्य सुचारु



नेपाल समाचारपत्र, पर्वत ।
प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको आन्दोलनका कारण पटक पटक बन्द हुँदै आएको पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको छ ।

चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजना र कर्मचारकिा बिचमा रोकिएको तलब भुक्तानी गर्ने सहमति पछि निर्माण कार्य १२ दिनपछि सुचारु भएको हो ।
जेठ महिनाको तलब नपाएको भन्दै कर्मचारीले असार १५ देखि आयोजनाको निर्माण कार्य रोकेका थिए । जिल्ला प्रशासन कार्यालयमा आयोजना र कर्मचारीका बिचमा जेठ र असार महिनाको तलब साउनको १५ भित्रमा भुक्तानी गर्ने सहमति भएको छ । कर्मचारीलाई असार मसान्तभित्रै बाँकी रहेको तलबको केही भाग रकम अग्रिम रुपमा समेत दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

आयोजनामा कार्यरत मज्दुरहरुलाई हरेक महिनाको १५ गते अघिल्लो महिनाको तलब दिइने सहमति थियो । असार १५ मा जेठ महिनाको तलब नपाएपछि कर्मचारी र मज्दुरले काम रोका थिए । लामो समय देखि आयोजनाले संचयकोषको रकम समेत जम्मा नगरिदिएको आरोप आयोजनालाई लगाउँदै आएका छन । आयोजनाले भने एक महिना सम्म काम रोकिएको र असार महिनामा अन्य खर्च ब्यबस्थापन समेत गर्नुपर्ने भएकाले केही ढिलाई भएको ब्यबस्थापनले बताउँदै आएको थियो ।

यस अघि प्रभावित क्षेत्रका बासिन्दाले क्षतिग्रस्त संरचनाको क्षतिपुर्ती वापतको रकम बढाउनु पर्ने माग गर्दै सुरुङ्ग निर्माण कार्यमा अबरोध गरेपछि जेठ ८ गते देखि असार ४ सम्म निर्माण कार्य ठप्प भएको थियो । प्रशासनको पहलमा २५ प्रतिशत रकम बृद्धि गरेर क्षतिपुर्ती दिने सहमति भएपछि निर्माण कार्य सुचारु भएको थियो ।
पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्ग मध्ये २ हजार ५ सय मिटर भन्दा बढी सुरुङ्ग निर्माण कार्य सहज रुपमा अघि बढ्न सकेको छैन । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट. शुरु भएको थियो । आयोजना सम्पन्न गर्ने मिति सकिन लागेपनि बिद्युतगृह, प्रसारणलाईन लगायतका संरचनाको काम गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्