राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ : मन्त्री गिरी



यमलाल भुसाल, बुटवल । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताउनु भएको छ् ।

बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित सम्बोधन गर्न नसकिएको भन्दै उहाँले प्रदेशसभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्र पनि व्यवस्थित हुने दावी गर्नु भयो ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४३ औं वार्षिक साधारण सभाको शुक्रवार उदघाटन गर्दै मन्त्री गिरीले दुर्घटना न्युनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । “दुर्घटना न्युनीकरण र क्षतिपुर्तीको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ”–मन्त्री गिरीले भन्नु भयो । यातायात मजदूरको क्षेत्रमा धेरै युवालाई रोजगारी प्रदान गरेर भलाई कोष जस्ता संस्थाले धेरै युवालाई विदेश जान रोकेको पनि उहाँले बताउनु भयो ।

उहाँले अहिले सरकारलाई चौतर्फी आक्रमण गर्ने प्रयास भैरहेको भन्दै व्यवसायी तथा मजदूरहरुलाई सजग रहन आग्रह गर्नु भयो ।
“भारतबाट विषादीयुक्त तरकारी परीक्षण गरेर मात्र आयात गर्ने सरकारले निर्णय गर्यो, नागरिकले विषादीयुक्त खाद्य वस्तु सेवन नगरुन् भन्ने सरकारको मनसाय हो, तर कतिपयले विगतमा विषादी नै नभित्रिएको झैं गरेर सरकारमाथि नियोजित आक्रमण गरिरहेका छन्”–मन्त्री गिरीले भन्नुभयो–“तर विषादी परीक्षणलाई निरन्तरता दिइने छ ।”

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हुँदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताउनु भयो । दुर्घटनापछिका घाइतेलाई महंगा अस्पतालमा उपचार गर्ने प्रवृत्तिले ठूलो धनराशी खर्च हुने गरेको र एउटै दुर्घटनामा पाँचलाख भन्दा बढी खर्च व्यहोर्नुपर्ने अवस्था कोषका लागि चुनौतीका रुपमा देखिएको उहाँले बताउनु भयो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले उद्योगी व्यवसायीहरु सरकारले लागू गरेको सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न इच्छुक नदेखिएको भन्दै मजदूरको मात्र नभएर स्वयं उद्योगी व्यवसायीको हितमा पनि यो ऐन आएकाले लागू गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्