हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध



हेटौँडा । गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो ।

यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्