ट्रेन दुर्घटनामा चौधजना मारिए



इस्लामावाद, (एजेन्सी) । पाकिस्तानमा बिहीबार बिहान सबेरै एउटा ट्रेन विपरीत दिशामा रोकिराखेको अर्को ट्रेनसँग जुध्दा कम्तीमा १४ जना यात्रुको मृत्यु हुनुका साथै अन्य ७९ जनाभन्दा बढी घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले सञ्चार माध्यमलाई जानकारी गराएका छन्।

पाकिस्तानी ट्रेन अधिकारीहरुका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा सो दुर्घटना भएको हो। प्रहरीका अनुसार लाहोर शहरबाट आइरहेको यात्रुबाहक ट्रेन र चौबाटो क्रसिङमा रोकिराखेको मालवाहक ट्रेन आपसमा ठोकिएका थिए।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको तथा ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरी उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको बताएका छन्।

सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताएका छन्। बारम्बार ट्रेन दुर्घटना भइरहने पाकिस्तानमा भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि रेलवे सेवा नाजुक अवस्थामा पुगेको छ।

यसैबीच पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन्। गत जुन महिनामा पनि दक्षिणी सिन्ध प्रान्तमा दुईवटा ट्रेन आपसमा जुध्दा तीनजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्