पुस्तक चर्चा: विभेद र पुरातनवादको उपज



रोहिणी घिमिरे
नेपालको सैनिक सेवामा प्रवेश गरेका भोजपुरका विजय मोक्तान उपरथीसम्म भए । मद्रास युनिभर्सिटीबाट एमफिल गरेका उनले केही वर्षअघि सैनिक सेवाको जागिरबाट बिदा लिनुप¥यो । जागिरबाट अवकाश लिए पनि उनी निष्कृय भएर बसेनन् । जागिर छोडेको ५ वर्षमै तामाङ समुदायसम्बन्धी एक बृहत् पुस्तक रचना गर्न सफल भए । हालै प्रकाशित ‘पुरातनवादले छेकेको उज्यालो’ नामको सो पुस्तक विभेद र पुरातनवादको जराबाट पलाएको कृति हो ।

राणाहरुको सुख–सुविधाका लागि गाडी बोकेर काठमाडौंमा भित्र्याउने तामाङ समुदायको अवस्था एकाधबाहेक अहिले पनि माथि उठ्न सकेको छैन । मुलुकमा लोकतन्त्रात्मक शासन व्यवस्था आएको १३ वर्ष बितिसक्यो । यहाँ विभेद र पुरातनवाद अझै हट्न सकेको छैन । यसैले पनि विगतको अवस्था झनै विकराल थियो भन्ने अनुमान गर्न गाह्रो छैन ।

यस्तो अवस्थामा पनि आफ्नो क्षमता र मेहनतले भोजपुरका विजय मोक्तान सैनिक सेवामा प्रवेश गरी उपरथीसम्म पुग्नु चानचुने कुरा थिएन । आखिर योग्यता र क्षमता हुँदैहुँदै उनले सैनिक सेवाबाट अवकाश लिनुप¥यो । ‘गाडी चढ्ने सवारका सन्तान र गाडी बोक्ने भरियाका सन्तानबीच खुल्ला प्रतियोगिता गराएर मात्र होहदाको कुर्सी ओगट्न दिनु कत्तिको जायज होला ?’ पुस्तकमा उल्लिखित मोक्तानको यो भनाइ कति हृदयस्पर्शी छ ।

सैनिक सेवा प्रवेश गर्दा वि.सं. २०३५ मा आवश्यक सामान किन्न आमाको मंगलसूत्र बेच्नुपरेको लेखक मोक्तानको तीतो यथार्थले जो–कसैको मन कुँड्याउँछ । उता माओवादी विद्रोहबीच नारायणहिटी दरबार धेरै शक्तिशाली भएको समय २०६१ सालमा उनी प्रमुख सैनिक सचिवालयमा महासेनानीको रुपमा सरुवा भएपछि दरबारिया शक्तिकेन्द्रसँग सम्बन्ध र पहुँच स्थापित भएको लेखकको कथन पढ्दा पाठकका हर्षाश्रु बग्छन् ।

विपन्न परिवारमा जन्मिएर पनि कहिल्यै हरेस नखाएको उनको पुस्तकले दर्शाउँछ । जागिर खाएपछि पनि हिँडेरै वा सार्वजनिक गाडीमा आवतजावत गर्नुपर्ने सकसपूर्ण अवस्थामा अर्काको स्कुटरलाई टोलाएर हेरिरहेको उनको दुखेसो छ । पछि पुरानो मोटरसाइकल हुँदै जापानिज टोयोटा गाडीसम्म किन्न सफल भएको उनको कहानी झनै पठनीय छ ।

इ. बृजिता मोक्तान र सी.ए. सुनिश्चित मोक्तानद्वारा प्रकाशित एवम् घोस्ट राइटिङद्वारा वितरित तामाङ समुदायसम्बन्धी तामाङकै छोराले रचना गरेको शायद सबैभन्दा ठूलो पुस्तक नै यही होला भन्ने मलाई लाग्छ । लेखक कति मेहनती रहेछन् भन्ने कुरा झन्डै ५ सय पृष्ठको ‘ए फोर साइज’को यस पुस्तकले नै दर्शाउँछ । पाँच खण्डमा विभक्त यस पुस्तकमा १२५ भन्दा बढी शीर्षक दिएर तथ्यांक, तस्वीर र परिशिष्टहरुसमेत समावेश गरिएकाले पुस्तकको गहनता बढाएको छ । इतिहासदेखि वर्तमानसम्मका नेपालभित्रका गतिविधि मात्र नभएर आफू पुगेका थुप्रै राष्ट्रको सामाजिक परिवेशलाई समेत यसमा औंल्याइएको छ ।

विभेदमा परेका र पुरातनबाट माथि उठ्न नसकेर निसास्सिएका तामाङ मात्र नभएर अन्य समुदायलाई पनि माथि उठ्न यो पुस्तक सहयोगीसिद्ध हुनेछ । साथै यस पुस्तकले माथिल्लो वर्ग भनिएकाहरुलाई पनि पुरातन सोचमा परिवर्तन ल्याउन घचघच्याउने देखिन्छ । भाषिक शुद्धतामा कमजोरी देखिए पनि पृष्ठसंख्या, आकार र गहनतालाई हेर्दा यसको मूल्य रु. १ हजारलाई महँगो भन्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्