दस्तावेजमा आयो वैज्ञानिक अनुसन्धानका ५० विषय



हेटौंडा । प्रदेश–३ को उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले विभिन्न अनुसन्धानका विषय समेटिएको दस्तावेज तयार पारेको छ । मन्त्रालयले राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन र सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलनमा प्रस्तुत अनुसन्धानका विषयलाई समेटेर दस्तावेज तयार पारेको हो ।

मन्त्रालयले अंग्रेजी भाषामा दुई वटा किताब तयार पारेको हो । अनुसन्धानका ५० वटा विषयहरु समेटेर सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलनको दस्ताबेज तयार पारिएको मन्त्रालयका विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखा प्रमुख रघुराम पराजुलीले बताउनुभयो । राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा प्रस्तुत करिब २ सय ५० प्रोजेक्ट समेटेर सम्मेलनको दस्ताबेज प्रकाशनको अन्तिम चरणमा रहेको पराजुलीले बताउनुभयो ।

सम्मेलनमा युवा वैज्ञानिकबाट प्रस्तुत अनुसन्धानका विषय नीति तथा योजनामा पृष्ठपोषणको रुपमा समेट्न सकिए सार्थक हुने उहाँले बताउनुभयो । वैज्ञानिक सँस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीका साथै विश्वविद्यालयस्तरका युवा शोधकर्ता र विज्ञान, प्रविधि र इनोभेसनका विभिन्न गतिविधिमा लागिपरेका सिर्जनशील युवाको प्रतिभालाई देशको समृद्धिको सपनासँग जोड्न सम्मेलनहरु महत्वपूर्ण हुने उहाँको विश्वास छ ।

प्रदेश स्थापना भएको पहिलो वर्षमा दुई वटा युवा वैज्ञानिक सम्मेलन गर्न प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय सफल भएको छ । दुई दिनसम्म चलेका सम्मेलनहरु त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी सञ्चालन गरिएका थिए । जसमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रसँगको समन्वयमा कार्यान्वयन गरिएको र सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, कीर्तिपुरसँगको समन्वयमा गरिएको थियो ।

सम्मेलनको सफल कार्यान्वयनले त्रिभुवन विश्वविद्यालयसँगको विज्ञान तथा प्रविधि क्षेत्रमा भावी दिनमा पनि सहकार्यको ढोका खुलेको महाशाखा प्रमुख पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्