सेतो सेतो कपाल सेतो सेतो दारी..



कहिलेकाँही धरहरालाई ठिङ्ख उभिएर एक्लै खित्का छाडेर हाँस्न मन लाग्छ । बुधबार पनि धरहरालाई त्यसरी नै प्राप्त भयो एउटा निःशुल्क हाँसो । खप्पराँ ल्याएपछि त्यस्तो हाँसो पनि आफूलाई मै हुँ भन्ने ‘बौद्धिक महामहिम’ बाटै प्राप्त हुँदोरहेछ ।

भनाइ नै छ नि भाग्यमा लेखेर ल्याएको चीज कसैले हरेर लान सक्दैन । बुधबार मुलुकको सङ्घीय राजधानीमा एउटा बौद्धिक बहस चलिरहेको थियो । त्यो बहस निकै मार्मिक र सान्दभिक थियो । सेतो सेतो कपाल सेतो सेतो दारी भएका एक स्वनामधन्य बौद्धिकको बोल्ने पालो आयो । अस्तिसम्म गैर–सरकारी भन्थे उनी आफूलाई कति छिटो सरकारी प्रवक्ता पो भइसकेछन् । सायद सरकारले पद दिएर आफ्नै मान्छे बनाएको छ क्यारे उनलाई ।

सत्ताको चाख मज्जाले चाखेकै निष्कर्ष निकाल्यो धरहराले नत्र किन अस्तिसम्म आफूलाई ‘निजी’ हुँ भन्ने उनी यस्तरी सरकारी प्रवक्ता भए त ? ल उनले सरकारी वकालत मात्रै गरेको भए केही फरक हुन्थेन । धरहरालाई त्यतिबेलासम्म अट्टाहाँस उठेकै थिएन । तर जब मुख छोप्न खोज्दा बौद्धिक महोदयको जामा फुस्कियो तब धरहराले हाँसो थाम्नै सकेन ।

बोल्दा बोल्दै ‘मै हुँ’ महोदयले दोहो¥याई तेह¥याई ‘बूढो साँढे’ र ‘बहर’को प्रसङ्ग ल्याएर ‘बाच्छी’ हरूमाथि लैङ्गिक हिंसा थोपरे । तिन्लाई सम्झँदा धरहरालाई अहिले पनि गुनगुनाउन मन लाग्छ ःसेतो सेतो कपाल सेतो सेतो दारी, यति ठूलो बौद्धिक बन्यौ क्यारी ?

प्रतिक्रिया दिनुहोस्